Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

बाढीले बगाएको मितेरी पुल निर्माणका लागि चीन सरकारलाई आग्रह गरिने

सरकारले बाढीले पूर्णरूपमा बगाएको रसुवास्थित मितेरी पुल निर्माणका लागि चीन सरकारलाई आग्रह गर्ने भएको छ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिबारे संसद्लाई जानकारी दिँदै गृहमन्त्री रमेश लेखकले मितेरी पुल बगाएर रसुवाबाट चीनतर्फको सम्पूर्ण आवागमन वन्द भएकाले पुल निर्माणका लागि परराष्ट्र मन्त्रालयमार्फत् चीन सरकारसाग आग्रह गर्ने बताएका हुन् ।

प्रधानमन्त्रीको नेतृत्वमा मंगलबार बसेको विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण राष्ट्रिय परिषदको वैठकले बाढीबारेको सूचना प्रणाली प्रभावकारी बनाउन चीन सरकारलाई आग्रह गर्ने निर्णय गरेको पनि मन्त्री लेखकले जानकारी दिए ।

त्यस्तै बाढीमा परेर मृत्यु भएका तथा बेपत्ताका परिवारलाई कानुनअनुसार राहत उपलब्ध गराउने र सबै घाइतेको निःशुल्क उपचार गर्ने पनि उनले बताए । मंगलबारको घटनामा बेपत्ता भएका २० जनामध्ये प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव भेटिएको छ ।

बेपत्ताहरूको खोजीमा तीनै सुरक्षा निकायमा ६ सय ८२ सुरक्षाकर्मी परिचालन गरिएको पनि गृहमन्त्री लेखकले जानकारी गराए । बाढीले रसुवागढी जलविद्युत आयोजनाको बाँधमा क्षति भएको छ भने त्रिशुली थ्री डी परियोजना बगाएको छ । संयुक्त जाँच चौकीका अधिकांश भाग तथा सुख्खा वन्दरगाहका ६४ सवारीसाधन बगाएको पनि मन्त्री लेखकले जानकारी दिए । बाढीबाट क्षति पुगेको मानवीय र भौतिक क्षतिको विवरण संकलन भइरहेको पनि उनले बताए ।