Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

भिजिट भिसा प्रकरणमा बाबुराम भट्टराईको कटाक्ष : दुई पुराना जोगीमाथि नयाँ जोगी थपिए

पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली राजनीतिका शीर्ष नेताहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विभिन्न ठूला भ्रष्टाचार काण्डमा संलग्न भएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत मंगलबार आफ्नो धारणा सार्वजनिक गर्दै डा. भट्टराईले यस्तो आरोप लगाएका हुन् । भिजिट भिसा प्रकरणमा देखिएको ‘छलकपटपूर्ण हर्कत’ लाई उदाहरण दिँदै उनले यी नेताहरूलाई ‘ती ठूला टाउका’ को संज्ञा दिएका छन् ।

उनले एनसेल, बूढीगण्डकी, साठी किलो सुनकाण्ड, भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु चिनी प्रकरण लगायतका सबै ठूला भ्रष्टाचार काण्डहरूमा देउवा, ओली र दाहालको संलग्नता रहेको आशंका व्यक्त गरे । ‘अब भिजिट भिसा प्रकरण मात्र हैन, सबै ठूला भ्रष्टाचार काण्डहरूको शक्तिशाली, उच्चस्तरीय, स्वतन्त्र र निष्पक्ष संयन्त्रमार्फत छानबिन गरिनुपर्छ’, भट्टराईले भनेका छन्, ‘दोषीलाई हदैसम्मको कारबाही गरिनु पर्छ ।’ सरकारले भिजिट भिसा प्रकरण छानबिनका लागि पूर्व मुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा सात सदस्यीय समिति गठन गरे पनि उक्त समिति पक्षपाती र कमजोर भएको भन्दै चौतर्फी विरोध भइरहेको छ ।