जाजरकोटकी सिर्जना गिरीको लोकसेवाको परीक्षा दिएर फर्किदै गर्दा दुर्घटनामा परेर ज्यान गएको छ । आइतबार साँझ इलामको रोङ गाउँपालिका–३ पाथलेडाँडामा सवारी दुर्घटनामा परेर उनको मृत्यु भएको हो ।
जाजरकोटको छेडागाड नगरपालिका–८ घर भएकी २३ वर्षीया सिर्जना लोकसेवा आयोग कोशी प्रदेशले लिएको नायब सुब्बा द्वितीय पत्रको परीक्षमा सहभागी भएकी थिइन् ।झापाबाट इलामतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४५४७ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको बा८९ प २२६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।
प्रहरीका अनुसार उक्त दुर्घटनामा परी सिर्जनासहित बझाङको बित्छडचिर गाउँपालिका–१ का २६ वर्षीय मदनबहादुर बोहराको पनि मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले उक्त दुर्घटनामा परी सिर्जना र मदनलाई उद्धार गरेर उपचारका लागि झापास्थित बिएन्डसी अस्पताल लगिएको जानकारी दिए ।
उनका अनुसार घाइते दुबै जनाको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनापछि ट्रक चालक पाँचथरको कुमाय गाउँपालिका–९ का ३३ वर्षीय नितेश बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।
यस्तै, मृतक दुबै जनाको शव बीएन्डसी अस्पतालमा राखिएको जाजरकोटका एमाले नेता निरज आचार्यले जानकारी दिए। उनका अनुसार सिर्जनाका आफन्तहरु इलाम पुगेका छन्। उनीहरुले प्रहरी सक्षम जाहेरी दिने तयारी गरेका आचार्यले बताए ।