Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

मधेश मिडिया काउन्सिलका अध्यक्ष उपाध्याय भ्रष्टाचार मुद्दामा दोषी ठहर

६ महिना कैद र एक लाख जरिवाना

मधेश प्रदेश मिडिया काउन्सिलका रजिष्ट्रार कमलकुमार उपाध्याय भ्रष्टाचार अभियोगमा दोषी ठहरिएका छन्। रजिष्ट्रार नियुक्त भएको दोस्रो दिनमा नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपाध्यायविरुद्ध गत वैशाख ९ मा विशेष अदालतमा मुद्दा दायर गरेकोमा बिशेष अदालतका अध्यक्ष एवम न्यायाधीश टेकनारायण कुँवर, सदस्य एवम न्यायाधीश रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले उपाध्यायलाई ६ महिना कैद सजाय र एक लाख १७ हजार ५२० रुपैयाँ जरिवाना तिराउने फैसला गरेको हो।

उपाध्यायले बाराको पचरौता नगरपालिकाको दुई वटा ठेक्काको टेण्डर सूचना राष्ट्रियस्तरको दैनिकमा प्रकाशन गर्नुपर्नेमा रेकर्डका लागि मात्र दैनिक पत्रिकामा एकप्रति प्रिन्ट गराएर बील भरपाइ बनाइ ३ लाख ५२ हजार ५६० रूपैयाँ हिनामिना गरेको भन्दै आयोगले अदालतमा मुद्दा दायर गरेको थियो।

नियुक्त भएको २ दिनमा नै आयोगले उनीबिरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा चलाएपछि निलम्बनमा परेका थिए। नगरपालिकासँगको मिलेमतोमा उनले सार्वजनिक खरिद ऐनलाई छलेर विज्ञापन प्रकाशित नगरी आर्थिक अनियमितता गरेका थिए। उपाध्यायको कम्पनी केएस मल्टीपरपोज प्रालिलाई एक लाख १७ हजार ५२० रुपैयाँ जरिवाना गरेको छ।उक्त कार्यमा संलग्नता देखिएका नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादवलाई पनि ६ महिना कैद सजाय र एक लाख १७ हजार ५२० रुपैयाँ जरिवाना गराउने फैसला गरेको छ।

नगरपालिकाका लेखापाल हासिम मिया अन्सारीले प्रमुख प्रशासकीय अधिकृतको आदेश अनुसार भुक्तानी मात्रै दिएको तर उनी विरुद्ध ठोस एवम वस्तुतिष्ट प्रमाणबाट दोषी पुष्टि नभएपछि उनलाई सफाई दिएको छ। नेपाल पत्रकार महासंघ बाराका पूर्व अध्यक्ष तथा प्रेस चौतारी नेपालका पूर्व सचिव रहेका उपाध्यक्ष बाराबाट प्रकाशन हुने कृपा दैनिकका प्रकाशक तथा सम्पादक समेत हुन्।