Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

सुन तस्करी प्रकरण: फरार आरोपी अमला रोक्का पक्राउ

सुन तस्करी प्रकरणमा फरार रहेकी रोल्पाकी अमला रोक्का पक्राउ परेकी छिन्। तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङकी पत्नी समेत रहेकी रोक्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो।

रोक्कालाई काठमाडौंको टोखाबाट पक्राउ गरिएको हो। उनी ६१ किलो अवैध सुन तस्करीको मुद्दामा अनुसन्धान सुरु भए लगतै फरार भएकी थिइन्।

प्रहरीले अमला रोक्काविरुद्ध इन्टरपोलमार्फत डिफ्युजन नोटिस समेत जारी गरेको थियो। उनलाई फरार सूचीमा राखेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

सोही अनुसन्धानमा दावा छिरिङ र अन्यलाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो। उक्त मुद्दा अदालतमा विचाराधीन छ।