Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

रोशी खोलाको बाढीमा फसेका पाँच जनाको उद्धार

वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण खोलाको बीचमा फसेका पाँच जनाको उद्धार गरिएको छ।बिहीबार राति रोशी खोलामा आएको बाढीका कारण नमोबुद्ध नगरपालिका–५ लासकोटमा पाँच जना, एउटा जेसिबी र एउटा टिप्पर खोलाको बीचमा फसेका थिए।

पाँच जना मानिस खोलाको बीचमा फसेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेको प्रहरी टोली, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोलामा फसेका उनीहरुको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ।

सुरक्षा टोलीले ओखलढुङ्गा दुधकोशी गाउँपालिका– ४ का मजदुर काम गर्ने सागर राई, नमोबुद्ध नगरपालिका– ५ का टिप्पर चालक मुस्कान तामाङ, तेमाल गाउँपालिका– ५ का निर्माण व्यवसायी सन्जय लामालाई उद्धार गरेको हो। यस्तै तेमाल गाउँपालिका–९ का टिप्पर चालक रेमन तामाङ र दोलखा भिमेश्वर नगरपालिका –९ का जेसिबी चालक समिर तामाङको उद्धार गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले बुधबार नै सूचना जारी गर्दै बाढीको जोखिम भएकाले खोलामा नजान भनेको थियो। तर उनीहरु त्यसको बेवास्ता गर्दै ढुंगागिट्टी निकाल्ने उद्देश्यले राति खोलामा जाँदा फसेका थिए। उनीहरुलाई उद्धार गर्न सुरक्षाकर्मीहरु सफल भएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ।