Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

आलमलाई सफाइ दिने दुई न्यायाधीश सर्वोच्चमा तानिए

उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगजका दुई न्यायाधीश सर्वोच्च अदालतमा तानिएका छन्। न्यायाधीश खुसीराम थारू र अर्जुन महर्जन बिहीबार सर्वोच्च तानिएका हुन्।

फैसलाका कारण विवादित भएको र सुरक्षाको पनि प्रश्न उठेकोले सर्वोच्चमा काजमा रहने गरी तानिएको हो। उनीहरूलाई न्यायपरिषदमा तानेर अहिले उपस्थित गराइएको न्यायपरिषद् स्रोतले जनाएको छ। न्यायधीश थारूसहितको इजलासले गत १४ जेठमा कांग्रेस नेता अफताब आलमसहितलाई सफाइ दिने फैसला गरेको थियो।

सोही फैसलाको विरोधमा यसरी इजलासभित्रै न्यायधीशमाथि दुर्व्यवहार भएको हो। न्यायाधीश खुसीराम थारु र अर्जुन महर्जनविरुद्ध उजुरी समेत परेको थियो । न्याय परिषदमा यसअघि नै वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले दुवै न्यायाधीशको सुरक्षालाई समेत ध्यानमा राखेर सर्वोच्चमा तान्नुपर्ने प्रस्ताव राखे पनि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र कानूनमन्त्री अजय चौरसियाले मानेका थिएनन्।

उनीहरूविरुद्ध न्यायपरिषदमा मृतक पिन्टु त्रिलोकका बुबाले समेत उजुरी दिएका थिए । परिषदको विहीबारको बैठकले एक सदस्यीय छानबिन समिति बनाएर उनीहरूलाई कार्यक्षेत्रबाट तानिएको एक सदस्यले जानकारी दिए। आलमलाई जिउँदै इँट्टाभट्टामा जलाएर मान्छे मारेको अभियोगमा जिल्ला अदालतले सर्वस्वसहित जन्म कैदको फैसला गरेको थियो।