Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

मितेरी सहकारी ठगी: ज्योतिबहादुर भण्डारी कम्बोडियामा पक्राउ

ललितपुरको मितेरी सहकारीको करोडौं रकम ठगीको घटनामा फरार एक आरोपी कम्बोडियामा पक्राउ परेका छन्। रेड कर्नर नोटिस समेत जारी भएका ज्योतिबहादुर भण्डारी कम्बोडियामा पक्राउ परेको प्रहरी प्रधान कार्यालयको उच्च स्रोतले जनाएको छ।

प्रहरीले भण्डारीसहित नेपाली कांग्रेसका सांसद एवं उपसभापति धनराज गुरूङकी पूर्वपत्नी ज्योति गुरूङविरूद्ध पनि रेड कर्नर नोटिस जारी गरेको थियो । ‘ज्योति भण्डारी भन्ने व्यक्ति पक्राउ परेका हुन् । उनलाई नेपाल प्रहरीको टोली लिन जाँदैछ,’ उच्च स्रोतले सुनायो । केही दिनअघि नै एसपीको कमाण्डमा टोली कम्बोडिया प्रस्थान गरेको हो ।

इन्टरपोलमार्फत प्रहरीले उनलाई नेपाल फिर्ता ल्याउन प्रक्रिया अघि बढाएको थियो। मितेरी सहकारीको ठगी प्रकरणको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गरिरहेको छ। यसमा भण्डारीलाई पक्राउ गरेर नेपाल फिर्ता ल्याएपछि सिआइबीको जिम्मा लगाउने तयारी छ।

अर्का प्रधान कार्यालय स्रोतका अनुसार भण्डारी केही महिनाअघि नै पक्राउ परेका थिए। भण्डारीले सहकारीबाट क्रिप्टोमा लगानी गर्ने भन्दै रकम लगेको सिआइबीको अनुसन्धानमा देखिएको थियो।

उनी यस ठगी प्रकरणमा प्रमुख आरोपी छन्। यही सहकारी ठगीमा सिआइबीले कांग्रेसका उपसभापति धनराज गुरूङसँग पनि पटक–पटक बयान लिएको छ । उनले भने ठगी प्रकरणमा आफ्नो संलग्नता नरहेको बताउँदै आएका छन् । उक्त सहकारीको १४ करोड ८१ लाख रुपैयाँ रकम अपचलन गरेको आरोप उनीहरूमाथि छ।