Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

बोसनिया र मलेशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बोसनिया र मलेशिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बस्ने लमजुङ दोर्दी गाउँपालिका-५ घर भएका २६ वर्षीय दिपेन्द्र गुरूङ र काठमाडौं महानगरपालिका-१५ बस्ने सर्लाही बरहथवा नगरपालिका-१ घर भएका ३४ वर्षीया रूपी माया रहेका छन् । 

पक्राउ मध्ये दिपेन्द्रले बोसनिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट ७ लाख रूपैयाँ र रूपीले मलेशिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट ५ लाख ५७ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दिपेन्द्रलाई काठमाडौं महानगरपालिका-१६ बाट आइतबार र रूपीलाई काठमाडौं महानगरपालिका-१५ बाट सोमबार पक्राउ गरेको हो । 

प्रहरीले उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको जानकारी दिएको छ ।