Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

नेको इन्स्योरेन्सको हकप्रद शेयर शेयरधनीको डिम्याट खातामा पठाइयाे

नेको इन्स्योरेन्स लिमिटेडले गत फागुन ८ देखि चैत १४ गतेसम्म निष्कासन गरेको हकप्रद शेयर बाँडफाँड गरेर सम्बन्धित शेयरधनीको डिम्याट खातामा पठाएको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ५० लाख ३० हजार कित्ता हकप्रद ४ कित्ता साधारण शेयर बराबर १ कित्ता हकप्रद शेयरका दरले निष्कासन गरेको थियो।

हाल यो शेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) र सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचीकृत तथा दर्ता भएर अभौतिक रूपमा कारोबारमा समेत आइसकेको छ।

हकप्रद निष्कासनका लागि कम्पनीले माघ १८ गते बुक क्लोज गरेकाले माठ १७ गतेसम्म नेप्सेमा कायम रही शेयर अभौतिकीकरण गराएका शेयरधनीको डिम्याट खातामा हकप्रद शेयर पठाइसकिएको जनाएको छ।

यद्यपि केही शेयरधनीहरूले हालसम्म पनि शेयर अभौतिकीकरण नगराएकाले हकप्रद शेयर पठाउन नसकिएको भन्दै त्यस्ता शेयरधनीलाई शेयर अभौतिकीकरण गर्न आग्रह गरेको छ।

साथै शेयर धितो राखेर ऋण लिएका शेयरधनीको हकप्रद शेयर ऋण दिने बैंक तथा वित्तीय संस्थाको एनओसी पत्र आएपछि मात्रै सम्बन्धित शेयरधनीको डिम्याट खातामा पठाइने पनि कम्पनीले उल्लेख गरेको छ। यसको शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।