Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

देश–विदेशमा नेपाली खाना प्रर्वद्धन गर्दै ‘सेफ’ कँडेल

जापानमा लामो समय ‘सेफ’ रहेका अन्तर्राष्ट्रिय सेफ घनश्याम कँडेल नेपाली खाना विश्वका विभिन्न मुलुकमा प्रर्वद्धनमा क्रियाशील छन्। उनी नेपाली खानाको विश्वव्यापी प्रर्वद्धन अभियानमा लागेका हुन्। बागलुङको काठेखोला–६ का कँडेल कुनै समय जापानमा नेपाली परिकारको प्रर्वद्धनमा लागेका थिए। जापानको अनुभव अहिले विश्वका विभिन्न देशमा नेपाली खानाको प्रर्वद्धनमा उनी जुटिरहेका छन्। भारत, जापान, अमेरिका, क्यानडा तथा अन्य मुलुकको भ्रमण गरी नेपाली खानाको प्रचार अभियानमा सक्रिय छन्।

सेफ कँडेलले हालै पाककलासम्बन्धी विश्वस्तरीय पुस्तक ‘टिमुर’ प्रकाशन गरेका छन्। अर्का सेफ दुर्गा खड्कासँगको सहलेखनमा उनको भोजनलिपि ‘कुकबुक’ प्रकाशोन्मुख छ। उनले स्वदेश तथा विदेशमा गरी ४० भन्दाबढी रेस्टुराँमा सयौँ सेफलाई आफ्नो ज्ञान तथा सीप सिकाएका छन्। उनी पुस्तक लेखन र कार्यक्रममार्फत हजारौंलाई पाककलाको ज्ञान बाँड्ने अभियानमा छन्।

सेफ कँडेल र खड्काको पाककलामा आधारित भोजनलिपि अभियानअन्तर्गत अहिले देशका विभिन्न जिल्लाबाट नेपाली खाना सङ्कलन गरी व्यावसायिक प्रर्वद्धनमा जुटेका छन् । पाककलामा नाम कमाएका गोविन्द नरसिंह केसी, गणेश ढकाल, लक्ष्मणप्रसाद भण्डारी, शिवहरि घिमिरे र नयाँपुस्ताका पूर्ण श्रेष्ठ, अजुवी चाम्लिङ, इङ्वा सुब्बालगायत विभिन्न सेफहरुसँगको अनुभव आदानप्रदानले पनि भोजनलिपि स्वाद कार्यक्रमलाई थप प्रभावकारी बनाएको छ । उनीहरुसँगको सहकार्यले नेपाली खाना प्रर्वद्धन अभियानले छोटो समयमै राष्ट्रिय तथा अन्तराएष्ट्रिय रुपमा ख्याति कमाएको छ।

विगत १८ वर्षको दौरानमा जापानमै मात्र आधा दर्जनभन्दा बढी रेस्टुराँ सञ्चालन गरी यस क्षेत्रको उच्च अनुभव उनले सँगालेका छन्। जापानिज, इण्डियन, थाइ र नेपाली परिकारलाई फ्यूजन गरी परम्परागत परिकारलाई आधुनिक शैलीमा नवीन एवं सिर्जनात्मक ढङ्गले प्रस्तुत गर्दै तिनीहरूको मौलिकता कायम राख्न पनि उनी खप्पिस छन्।

भोजन लिपि स्वादको चौथो संस्करण असार १५ गते
अन्तर्राष्ट्रिय सेफ घनश्याम कँडेल र दुर्गा खड्काको पाककलामा आधारित भोजनलिपि स्वादको चौथो संस्करण आगामी असार १५ गते काठमाडौँमा हुने भएको छ। राष्ट्रिय धान दिवसको अवसर पारेर कार्यक्रम गर्न लागिएको नेपाली खाना प्रर्वद्धनमा अभियानले जनाएको छ। कार्यक्रम धान–चामल र दुग्धजन्य पदार्थका परिकारको प्रर्वद्धनमा आधारित रहने अभियानका संयोजक देवीप्रसाद सापकोटाले जानकारी दिएका छन्। चौथो संस्करणमा मोही, मह, गाईको घ्यू, तोरीको तेल, नेपाली कफीलगायत मौसमी कृषिउपजको पनि प्रर्वद्धन गरिनेछ।

अभियानले यसअघि यही जेठ १८ गते काठमाडौँमा तेस्रो संस्करण सम्पन्न गरिसकेको छ। नेपाली सांगीतिक धुनसहित प्रस्तुत संस्करणमा खानाका विभिन्न २५ परिकार राखिएको थियो। भोजनलिपि स्वादमा अधिकांश नेपाली कृषिउपजबाट बनेका परिकार राखिएका थिए। मोही, कोदो, मकै, फापर सिस्नो, कटहर, च्याउका परिकार राखिएको थियो । बेलको सर्वत, निगुरो, खुवा, पान–लड्डुबाट बनेका परिकार पाककलाका विशेष आकर्षण थिए।

भोजनलिपि स्वादका सर्जक कँडेलले नेपाली खानालाई नेपाली संस्कृति र आध्यात्मिक पक्षसँग पनि जोडेर लैजान उपयुक्त हुने बताउँछन्। आजको संसारमा मानिसले स्वादका अतिरिक्त जीवन पनि खोजिरहेको उल्लेख गर्दै उनले नेपाली खानाले संसारलाई एउटा अमूल्य औषधिरुपी उपहार पनि दिनसक्ने विचार व्यक्त गर्छन्।

नेपाली खाना प्रर्वद्धन अभियानको संयोजनमा हुँदै आएको भोजनलिपि स्वाद स्वदेश तथा विदेशमा गरी १०० भाग सञ्चालन गरिने अभियानका संयोजक सापकोटाले जानकारी दिए। नेपाली खानालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन यो अभियान थालिएको हो। हालसम्म झापा, इलाम, पाँचथर, दोलखा, धनुषा, चितवन, नवलपरासी, कास्की म्याग्दी बागलुङ, रोल्पा, जुम्लालगायत ३५ जिल्लामा परिकार प्रस्तुत गरिसकिएको छ। काठमाडौँ बाहिर सातै प्रदेशका राजधानीलगायत मुख्य सहरमा पनि अभियान चाँडै सुरु गरिने भएको छ।