Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

जीप दुर्घटना हुँदा दुईको मृत्यु, १४ जना घाइते

बागलुङमा पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा १४ जना घाइते भएका छन्।

बागलुङको बुर्तिबाङ बजारदेखि यात्रु बोकेर ढोरपाटन–सालझण्डी सडक खण्ड हुँदै सहीखोलातर्फ जाँदै गरेको लुम्बिनी प्रदेशको ०१–००१ च १७७५ नम्बरको जीप ढोपाटन नगरपालिका–५ बतासेडाँडामा शुक्रबार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक वसन्त पाण्डेले जानकारी दिए । जीपमा १६ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ भने १० जनाको अवस्था मध्यम र एकको अवस्था सामान्य रहेको प्रनाउ पाण्डेले बताए । मृतकहरूको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

घाइतेहरूको हाल बुर्तिवाङ अस्पतालमा उपचार भइरहेको प्रनाउ पाण्डेले बताए । जीप सडकदेखि अन्दाजी ५० मिटर तल खेतमा खसेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।