उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका न्यायाधीश खुसीराम थारुमाथि मोसो प्रहारको घटनापछि सुरक्षा व्यवस्था कडा बनाइएको छ । इजलासमै न्यायाधीशमाथि मोसो प्रहार भएपछि पर्सा प्रहरीले अङ्गरक्षकसहित त्यहाँ खटिएका सुरक्षाकर्मीको टोलीलाई फिर्ता बोलाएको हो ।
न्यायाधीश थारुका अङ्गरक्षक र खटिएका सुरक्षाकर्मीको टोली फिर्ता बोलाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गौतम मिश्रले जानकारी दिएका छन् । ‘आज बिहान उच्च अदालतको अनुगमन गरेका थियौँ, त्यसपछि त्यहाँ खटिएका सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाएका छौँ’ उनले भने ।
अदालतमा प्रहरी सहायक निरीक्षक (असई) को कमाण्डमा रहेको सुरक्षाकर्मीको टोली फिर्ता बोलाएर करिब २ दर्जनको हाराहारीमा नयाँ टोली खटाइएको छ । यस्तै उच्च अदालतका १३ जना न्यायाधीशहरूका सबै अङ्गरक्षकलाई फिर्ता बोलाइएको प्रहरी प्रमुख मिश्रले बताए ।
मोसो प्रहार प्रकरणपछि अहिले उच्च अदालतमा आवतजावत गर्नेहरूमा कडा निगरानी बढाइएको छ । प्रवेशद्वारमै जाँच गरेर मात्र इजलासमा जान दिइएको प्रहरी प्रमुख मिश्रको भनाइ छ ।