Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

बाढीले डाइभर्सन बगायो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

पूर्वपश्चिम राजमार्गअन्तर्गत दुम्किवासमा बिनयी खोलामा बनाइएको डाईभर्सन बाढीले बगाउँदा राजमार्ग अवरुद्ध बनेको छ।

विनयी खोलाको पुल भाँचिएपछि खोलामाथि डाईभर्सन बनाएर यातायात सञ्चालन गरिँदै आए पनि बिहीबार बिहान आएको बाढीले डाईभर्सन बगाएपछि राजमार्ग अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता मधु नेपालले जानकारी दिएका छन्।

डाईभर्सन बगाएपछि यातायातका साधन सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ। डाईभर्सन पुनः बनाउने प्रयास भइरहेको जिल्ला प्रहरीको भनाइ छ। यात्रुबाहक सवारी र हल्का सवारी साधनहरूलाई होङ्सी गेटबाट सर्दी हुँदै पठाइए पनि मालबाहक गाडी भने रोकिएका छन्। विनयी खोलामाथिको पुल भासिएको पाँच महिनाभन्दा बढी समय भइसक्दा पनि मर्मत नहुँदा खोलामा डाईभर्सन बनाएर यातायात सञ्चालन गरिएको हो।

वर्षा हुनासाथ डाईभर्सन बगाएर यातायात अवरुद्ध हुने गरेको छ। सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारी साधन र साना सवारी साधनलाई होङ्सी गेटबाट उत्तर सर्दी हुँदै करिब २५ किलोमिटर घुमाउरो बैकल्पिक मार्ग बाट सञ्चालन गरिएको छ जिल्ला प्रहरी कार्यालयका डिएसपी मधु नेपालले बताए। खोलामा पानीको सतह घटेपछि डाइभर्सन मर्मतको काम गर्ने तयारी छ।