Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

आमाको नामबाट नागरिकता दिने व्यवस्था रहेको विधेयक पारित

राज्य व्यवस्था तथा सुशासन समितिले आमाको नामबाट नागरिकता दिने व्यवस्था गरिएको विधेयक पारित गरेको छ। सरकारले ल्याएको नागरिकता विधेयक राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिएका छन्।

राज्य व्यवस्था समितिको आज (मंगलबार) को बैठकले नेपाल नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरिएको हो। समिति सभापति खतिवडाका अनुसार विधेयकमा आमा वा बाबुको नामबाट नागरिकता प्राप्त हुने व्यवस्था छन्। पहिले नागरिकता लिनका लागि आमा र बाबु अनिवार्य हुन्थ्यो।

आमाको नामबाट नागरिकता लिँदा स्वघोषणा भने गर्नुपर्ने व्यवस्था गरिएको छ। त्यसरी गरिएको स्वघोषणा गलत ठहरिएमा एक वर्षसम्म कैद र जरिवानाको व्यवस्था पनि राखिएको छ। आमाको नामबाट नागरिकता प्राप्त गर्ने कानुन नहुँदा नागरिकताविहीनको संख्या ठूलो रहेको भन्दै सरकारले यो विधेयक ल्याएको थियो।

त्यस्तै, नागरिकता कार्यालय प्रमुखको भूमिकामा रहेका नायब सुब्बाले पनि दिने व्यवस्था विधेयकमा राखिएको छ। समिति सचिव सुरज दुराका अनुसार यो विधेयक पारित भएर ऐनका रूपमा कार्यान्वयनमा आएपछि कार्यालय प्रमुखको रूपमा काम गरिरहेका नायब सुब्बाले पनि नागरिकता दिन पाउने छन्।