Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

सरकारको खातामा तीन खर्ब ६० अर्ब नगद मौज्दात

शोधनान्तर स्थिति चार खर्ब ३८ अर्ब बचतमा

चालु आर्थिक वर्षको २०८१/०८२ को १० महिनामा सरकारको खातामा तीन खर्ब ६० अर्ब ९८ करोड बराबर नगद मौज्दात रहेको छ। नेपाल राष्ट्र बैंकले आज मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार राष्ट्र बैंकमा रहेको नेपाल सरकारका विभिन्न खातामा उक्त परिमाण बराबर रकम मौज्दात रहेको छ। २०८१ असार मसान्तमा ती खातामा ९३ अर्ब ९६ करोड मौज्दात थियो।

शोधनान्तर स्थिति चार खर्ब ३८ अर्ब बचतमा
मुलुकबाट बाहिरिने विदेशी मुद्राको तुलनामा भित्रिने रकम बढी हुँदा शोधनान्तर स्थिति निरन्तर बचतमा छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८१/८२ को १० महिनामा शोधनान्तर स्थिति चार खर्ब ३८ अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँले बचतमा रहेको थियो। अमेरिकी डलरमा तीन अर्ब २३ करोडले शोधनान्तर स्थिति बचतमा रहेको छ। अघिल्लो वर्ष २ अर्ब ९४ करोडले बचतमा थियो ।

निश्चित समयावधिभिक्र आवासीय र गैरआवासीय व्यत्ति–संस्थाबीच भएका आर्थिक तथा वित्तीय कारोबारको सारांश नै शोधनान्तर स्थिति हो। शोधनान्तर बचत भएमा बाह्य क्षेत्र कारोबारबाट विदेशी मुद्रा आप्रवाह बढ्छ भने घाटा भएमा विदेशी मुद्रा बाह्य प्रवाह बढी हुन जान्छ। शोधनान्तर खाताले चालु खाता र पुँजी तथा वित्तीय खातामा गैरआवासीय व्यक्ति तथा संस्थासँग भएको कारोबारलाई समेट्छ।

यस अवधिमा चालु खाता २ खर्ब ५५ अर्ब ९३ करोड रुपैयाँ बचतमा रहेको छ। अघिल्लो वर्षको यसै अवधिमा चालु खाता १ खर्ब ९३ अर्ब ३१ करोड रुपैयाँले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षे १ अर्ब ४५ करोडले बचतमा रहेको चालु खाता यस वर्ष १ अर्ब ८९ करोडले बचतमा रहेको छ। खुद पूँजीगत ट्रान्सफर यो अवधिमा ८ अर्ब ४८ करोड रुपैयाँको भएको छ । १० महिनामा १० अर्ब ६० करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको तथयांकले देखाएको छ।