अमेरिकाले निष्काशन गरी पठाएका ३७ नेपाली काठमाडौं आइपुगेका छन्। आइतबार साँझ उनीहरू काठमाडौं आइपुगेका हुन्। अमेरिकाले उनीहरूलाई चार्टर्ड विमानबाट नेपाल ल्याई दिएको हो ।
‘अमेरिकाबाट निष्काशित ३७ नेपाली काठमाडौं आइपुगेका छन्’, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले जानकारी दिए। काठमाडौंस्थित अमेरिकी दूतावासले अमेरिकी अध्यागमन तथा भन्सारसम्बन्धी कानुन कार्यान्वयन गर्ने निकाय ९आईसीई०को चार्टर्ड विमानमा उनीहरू काठमाडौं आएको जनाएको छ।
‘अमेरिकामा बस्नका लागि कानुनी आधार स्थापित नगर्ने नेपाली नागरिकहरू उक्त उडानमा रहेका थिए’, अमेरिकी दूतावासले जनाएको छ। यति ठूलो संख्यामा नेपालीलाई एकै पटक निष्काशित गरी अमेरिकाले पठाएको यो पहिलो पटक हो । अध्यागमन विभागका अनुसार, डोनाल्ड ट्रम्पले राष्ट्रपतिको शपथ लिएपछि यसअघि अमेरिकाले १४० नेपाली निष्काशित गरिसकेको छ। आइतबार आइपुगेका ३७ जना समेत जोड्दा अमेरिकाबाट निष्काशित भएर आउनेको संख्या १७७ पुगेको छ।
ट्रम्पले सन् २०२५ जनवरी २० मा राष्ट्रपतिको शपथ लिएका थिए । सन् २०२५ जनवरी २० देखि जुन ४ सम्मको अवधिमा अमेरिकाले १४० जना नेपालीलाई निष्काशित गरेको हो। अमेरिकी अध्यागमन कानून उल्लंघन गरेको आरोपमा उनीहरूलाई डिपोर्ट गरिएको जनाइएको छ।
काठमाडौंस्थित अमेरिकी दूतावासले डिपोर्ट भएका काठमाडौं आउनु केही दिनअघि त्यसबारे अध्यागमन विभागलाई जानकारी दिने गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि उनीहरूलाई नेपाल प्रहरीलाई बुझाउने गरिएको छ । प्रायः अवैध बाटोबाट अमेरिका गएकाहरू निष्काशनमा पर्ने गरेका छन् । यसैकारण उनीहरूलाई प्रहरीले आवश्यक सोधपुछ गर्ने गरेको छ। खासगरी उनीहरूलाई अमेरिका पठाउने ९मानव तस्कर० का बारेमा उनीहरूसँग सूचना लिने काम प्रहरीले गर्छ।
अवैध तरिका र बाटोबाट अमेरिका प्रवेश गरेको, गलत मनसायले अमेरिकामा बसेको र बिनाभिसा बसेको जस्ता आरोप डिपोर्ट भएकाहरूमाथि अमेरिकाले लगाएको छ। ट्रम्प प्रशासनले निष्काशित गर्ने एक हजार ३६५ नेपालीसहित १४ लाख ४५ हजार ५४९ जना आप्रवासीको सूची सार्वजनिक गरेको थियो। उनीहरू सबैमाथि अवैध तरिकाले अमेरिकामा बसोबास गरेको आरोप लगाइएको थियो। सन् २०२४ मा अमेरिकाले ३५ नेपालीलाई निष्काशन गरेको थियो।