Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

सुनको गहनाको लोभमा छिमेकीले गरे वृद्धाको हत्या, नहरमा भेटियो शव

मोरङको ग्रामथान गाउँपालिकामा सुन गहनाको लोभमा एक वृद्धाको हत्या भएको छ। आइतबार दिउँसो मोरङ सुनसरी सिँचाइ आयोजनाको नहरमा मृत फेला परेकी वृद्धाको गरगहनाको लोभमा छिमेकीले हत्या गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर ७ कि ८९ वर्षीया तिलमाया खड्का मृत भेटिएकी थिइन्। सुनसरी मोरङ सिँचाइ आयोजना अन्तर्गतको राम जानकी मन्दिर छेउको नहरमा घोप्टिएको अवस्थामा उनको शव फेला परेको थियो । प्रहरीले अनुसन्धान गर्ने क्रममा उनको हत्या भएको प्रारम्भिक निष्कर्ष निकालेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी प्रवक्ता कोपिला चुडालले जानकारी दिइन्।

प्रहरीले हत्या आरोपमा ग्रामथान गाउँपालिका–६ बस्ने ४० वर्षीया सीता ऋषिदेवलाई नियन्त्रणमा लिएको छ । अनुसन्धान गर्ने क्रममा प्रहरीले ऋषिदेवको घरमा खान तलासी गरेको थियो। सोही क्रममा मृतक खड्काले लगाएको गरगहना ऋषिदेवको घरमा फेला परेको प्रवक्ता चुडालले जानकारी दिइन्।

दिलमायाले लगाएको गरगहनाको लोभले उनको हत्या गरी नहरमा फालिएको हुनसक्ने आशंका प्रहरीको छ । पक्राउ परेका ऋषिदेवलाई इलाका प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। शनिबारदेखि हराइरहेकी तिलमायालाई उनका परिवारले खोजिरहेका थिए।