Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध ३३ करोडको भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध ३३ करोड बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दर्ता गर्ने निर्णय गरेको छ।

अख्तियार स्रोतका अनुसार आयोगले विशेष अदालतमा मुद्दा दर्ता गर्दैछ। उनीहरुविरुद्ध मुद्दा पेस गर्न विशेष अदालतमा अख्तियारले फाइल लगिसकेको छ। नेपाल टेलिकमको बिलिङ प्रणाली, मर्मत शुल्कलगायतमा भ्रष्टाचार भएको भन्दै अख्तियारले मुद्दा लगेको हो।

पहाडी लगायतले नेगोसियसनको नाममा बिलिङ प्रणालीमा चिनियाँ कम्पनी एसिया इन्फोसँग मिलेर वर्षेनी ६० करोड भन्दा बढी रकम घाटा पुर्‍याएको अख्तियारको निष्कर्ष छ।

यस प्रकरणमा पूर्व मुख्यसचिव डा. बैकुण्ठ अर्याल, दुई सहसचिवसहित करिब ३० जना कर्मचारी, टेलिकम सञ्चालक समितिका पदाधिकारीसँग पनि अख्तियारले बयान लिएको थियो।