Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

रुपन्देहीमा खेतमा जल्दै गरेको युवतीको शव बरामद, श्रीमान पक्राउ

रुपन्देहीको सम्मरीमाई गाउँपालिका–५ स्थित मर्चवार क्षेत्रमा २२ वर्षीया सिर्जना पाल जलेको अवस्थामा खेतमा मृत भेटिएकी छन्।

घरदेखि करिब एक किलोमिटर टाढाको खेतमा उनी मृत भेटिएकी हुन्। घटना लगत्तै पति प्रमोद पाललाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ। रुपन्देही प्रहरीका डीएसपी गणेश सापकोटाले खोला नजिकै खेतमा शव रहेको जानकारी पाएपछि बिहान ३ बजे प्रहरी टोली पुगेर अनुसन्धान थालेको बताए। अनुसन्धानमा प्रयोग गरिएको कुकुरले महिलाको घरसम्म पुर्‍याएको उनले जानकारी दिए।

‘प्रारम्भिक अनुसन्धानको क्रममा कुकुरले घरसम्म पुर्‍याएको हुँदा महिलालाई घरबाट नै घटनास्थलसम्म पुर्‍याएको देखिन्छ’, उनले भने, ‘तर आत्महत्या हो वा हत्या अहिले नै केही भन्न सक्ने अवश्था छैन, हामी अनुसन्धानमै छौं ।’ पतिले भने सँगै सुतेको तर एक्कासी यस्तो घटना भएको प्रारम्भिक बयान दिएका छन्।

सम्मरीमाई–५ का वडाध्यक्ष श्रवणकुमार यादवका अनुसार सिर्जना र प्रमोदबीच १५ महिनाअघि बिहे भएको हो। तिलोत्तमाका माधव गडेरियाकी छोरीसँग प्रमोदले मागी बिहे गरेका हुन्। सन्तान भइसकेका छैनन्। वडाध्यक्ष यादवले भने, ‘राति ९ बजेसम्म माइतीसँग कुरा गरेकी रहिछन्, घरायसी झगडा पनि केही सुनिएको छैन। माइतीका कुरा सुनेपछि प्रहरीले अनुसन्धानबाट पत्ता लगाउला।’