Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

पाहुना आएका दुई बालकको पोखरीमा डुबेर मृत्यु

झापाको अर्जुनधारा नगरपालिका–११ स्थित नमूना सामुदायिक वनभित्र रहेको पोखरीमा डुबेर आज बिहान दुई बालकको मृत्यु भएको छ।

मृतकहरू तेहथुमको जिरीखिम्ती घर भई अर्जुनधारा–११ का पूर्णबहादुर राईको घरमा पाहुना आएका १२ वर्षीय महसुस गुरुङ र १० वर्षीय सुजल गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र खड्काले जानकारी दिए।

आज बिहान ८ बजे दुवै बालक पौडी खेल्न सामुदायिक वनभित्रको पोखरीमा गएका थिए। स्थानीय बासिन्दाले पोखरीमा डुबेको थाहा पाएपछि उद्धार गरेर उपचारका लागि विर्तामोडको बिएन्डसी हस्पिटल पुर्‍याएका थिए।

हस्पिटलका चिकित्सकहरूले बिहान ८ः३० बजेतिर दुवै बालकको मृत्यु भइसकेको घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खड्काले बताए। हाल दुवै बालकको शव हस्पिटलमै रहेको छ।