Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

भारतबाट फर्केका थप पाँच जनामा कोरोना संक्रमण

गौरीफन्टा नाका हुँदै भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोनाको संक्रमण देखापरेको छ । सो नाका हुँदै फर्केका पाँच महिलाको आज ‘एन्टिजेन’ परीक्षण गर्दा नतिजा ‘पोजेटिभ’ आएको हो । तीमध्ये तीन जना कैलाली र दुई जना अछामका हुन्।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीका अनुसार भारतबाट फर्केका शंकास्पद ३० जनाको एन्टिजेन परीक्षण गरिएको थियो । कोरोना संक्रमित पाँचै जनालाई ‘होम क्वारेण्टाइन’मा बस्न परामर्श दिइएको छ । दुई दिनअघि मात्रै यही नाका भएर भारतबाट आएका ३६ जनाको एन्टिजेन परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

तीन दिनमा भारतबाट फर्केका आठ जनामा कोराना संक्रमण देखा परेको सूचना अधिकारी जोशीले जानकारी दिए।संक्रमितहरुमा ज्वरो र रुघाखोकीको समस्या रहेको उनको भनाइ छ। एन्टिजेनको नतिजा पोजेटिभ आएका आठै जनाको नमूना काठमाडौँस्थित प्रयोगशालामा पठाइएको छ। आपतकालीन सञ्चालन केन्द्रले सीमा नाकामा तीन दिनदेखि ‘हेल्थ डेस्क’ राखेर कोराना परीक्षण गर्दै आएको छ।

‘पुरानै स्टकमा रहेका किट प्रयोग गरी परीक्षण गर्दै थियौँ, आज थप दुई सय किट प्राप्त भएको छ’, सूचना अधिकारी जोशीले भने, ‘दुई-तीन दिनभित्रै सीमा नाका गड्डाचौकीमा हेल्थ डेस्क राखेर कोरोना परीक्षण गर्छौ ।’