Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

सहरी तथा भवन निर्माण रामेछापका तत्कालीन कार्यालय प्रमुखहरुसहित ६ जनाविरुद्ध मुद्धा दायर

सघन सहरी तथा भवन निर्माण आयोजना, रामेछापका तत्कालीन कार्यालय प्रमुखहरु अमर बहादुर थापा, नारायण प्रसाद भण्डारी, सुरेश कुमार वाग्लेसमेत ६ जना उपर कमिशन लिएको, गैरकानूनी लाभ तथा हानी, गैरकानूनी व्यापार व्यवसाय, सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको छ ।

अख्तियारले तत्कालीन कार्यालय प्रमुखहरु अमर बहादुर थापा, नारायण प्रसाद भण्डारी, सुरेश कुमार वाग्ले, लेखा प्रमुखहरु यमलाल बेलवासे र सुरेश प्रसाद दाहालले टिका प्रसाद भट्टसँगको मिलोमतो तथा योजनामा गैरकानूनी तवरबाट आफ्नै कार्यालयबाट दोहोरो भत्ता दिएको, आफ्नो कार्यालयको राष्ट्रसेवक कर्मचारीले आफ्नो वास्तविक परिचय लुकाई एकै समयमा गैरकानूनी रूपमा कान्तिपुर पब्लिकेशनमा स्थायी नियुक्ति लिएर काम गरी तलब भत्ता तथा पारिश्रमक बापत सेवा सुबिधा लिएको, मन्थली बचत तथा ऋण सहकारी संस्था लि. मन्थलीको संस्थापक सदस्य र सञ्चालक समितिमा रही काम गरी परिश्रमिक बापत भत्ता तथा सुविधा लिएको, मिडाड नेपाल नामक विज्ञापन एजेन्सीको स्थानीय प्रतिनिधीरसाईट म्यानेजर भई कमिशन रकम लिएको, सिटिजन्स लाईफ ईन्स्युरेन्स लि।को बिमा अभिकर्ताको रूपमा काम गरी कमिशन लिएको, आफू कर्मचारी भन्ने वास्तविक परिचय लुकाई कान्तिपुर दैनिकको पत्रकारको हैसियतले एकै समयमा विभिन्न कार्यालयहरूबाट दोहोरो हुने गरी भ्रमणरकाज खटिई भ्रमण भत्ता तथा बैठक भत्ता बापतको रकम बुझि लिँदा समेत उक्त विषयमा आवश्यक कारवाही गरेको आरोप लगाएको छ ।

अख्तियारले सबै आरोपीले एक करोड १५ लाख ४ हजार १११ रूपैंया गैरकानूनी लाभ प्राप्त गर्ने गराउने कार्य गरेको, गैरकानूनी तवरले कमिसन लिएको, गैरकानूनी व्यापार व्यवसाय गरेको र सरकारी सार्वजनिक सम्पत्तिको हिनामिना हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा शुक्रबार बिशेष अदालतमा आरोपपत्र दायर गरिएको जनाएको छ ।