Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

रामेछापमा अन्तरजातीय विवाह गर्ने १४ जोडी सम्मानित

अन्तरजातीय विवाह गर्ने १४ जोडीलाई रामेछापमा सम्मान गरिएको छ । 

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस २०८२ को अवसर पारेर बुधबार यहाँ राष्ट्रिय दलित पत्रकार सङ्घले ती जोडीहरूलाई सम्मान गरेको हो । 

अन्तरजातीय विवाह गर्ने रामचन्द्र विक र प्रतिभा बोहोरा, पवन रसाइली र अनिता मगरलगायत जोडीलाई मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले खादा, नगद र प्रशंसापत्रसहित सम्मान गरेका छन् ।  

त्यस अवसरमा बोल्ने अधिकांश वक्ताहरूले सरकारले नेपाललाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको १८ वर्ष पूरा भइसके पनि समाजमा विभेद कायमै रहेको बताएका थिए ।  यसको कार्यान्वयन र व्यावहारिक पक्षका लागि सबैको सहयोग आवश्यक रहने पनि वक्ताहरूको भनाइ थियो । 

नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ रामेछापका अध्यक्ष नवराज विकले समाजमा व्याप्त जातीय विभेद तथा छुवाछूतलाई निस्तेज गर्नका लागि अन्तरजातीय विवाह गरेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने जोडीलाई सम्मान गरिएको बताए । 

सम्मानितमध्ये अन्तरजातीय विवाह गर्ने रीता खड्काले पवित्र प्रेम र सम्बन्धका अगाडि सामाजिक बन्धन बाधक बन्न नहुने भन्दै आफूहरूले खुसीले नै त्यसलाई चुनौती दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “विवाह संस्कृति, परम्पराअनुसार नै गरेका हौँ, हामी खुसी नै छौँ ।”  

सम्मानित भएकी अनिता मगरले पनि परिवार र समाजका बन्धनबाट माथि उठेर विवाह गरेको तर माइती पक्षले अझै स्वीकार गर्न नसकेको भन्दै दुखमनाउ गरे ।  “अन्तरजातीय विवाहले हामी त खुसी छौँ तर मेरो माइतीसँगको सम्बन्ध भने टुट्यो । उहाँहरूले स्वीकार्नु भएको छैन, यही कार्यक्रममार्फत मेरो माइतीको सम्बन्धलाई पनि सुमधुर बनाई दिन मेरो आग्रह छ”, उनले भने । 

अन्तरजातीय विवाह गर्नुभएकी प्रतिभा बोहोराले भने, “अन्तरजातीय विवाह गर्दैमा गल्ती गरेको सम्झनुहुन्न । समाजले नराम्रो भन्दैमा केही असर पर्दैन, सबैभन्दा ठूलो कुरा त आफूखुसी हुनुपर्छ । अरुको खुसीका लागि आफ्ना खुसीहरूलाई कतिदिनसम्म दबाएर राख्ने !”