Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

ललितपुरमा बिजुलीको पोल ढलेर लाग्दा एक जनाको मृत्यु

ललितपुरमा बाटो बनाउने क्रममा पोल ढलेर लाग्दा एक जनाको मृत्यु भएको छ। गोदावरी नगरपालिका–१४ मा बाटो चौडा गर्ने क्रममा बिजुलीको पोल ढलेर लाग्दा स्थानीय रमेश खड्गीको मृत्यु भएको प्रहरीले जनाएको छ।

ठैबबाट सानागाउँ जाने बाटो बनाउँदा स्काभेटरले पोल उठाउँदा सो पोलले लागेर ५५ बर्षीय खड्गीको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एवं प्रहरी उपरीक्षक चक्रराज जोशीले बताए। उनका अनुसार घटनाको विरोधमा सातदोबाटोबाट गोदावरी जाने बाटो स्थानीयले अवरुद्ध पारेका छन्।

प्रहरीले जेसीबीका चालकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जानकारी जोशीले दिए। प्र . ३–०१ ००३ क ६७४२ नम्बरको जेसिपिले विद्युत्को पोल अडाउने र सार्ने काम गर्ने क्रममा ढलेको थियो।

खड्गी बाटो ममर्तको काम छेउमै उभिएर हेरिरहेका थिए। सो क्रममा विद्युत्को पोल ढलेर लाग्दा गम्भीर घाइते भएका थिए। उनलाई अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन्।