Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

यातायात व्यवसायीहरूले फिर्ता लिए आन्दोलन, गण्डकी सरकारद्धारा एक महिनाका लागि राइड सेयरिङ स्थगन

यातायात व्यवसायीहरूले जारी आन्दोलन फिर्ता लिएका छन् । गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ नियमावली स्थगन गरेपछि यातायात व्यवसायीहरूले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन्‌ ।

नियमावली फिर्ता लिनुपर्ने माग राख्दै देशभर सार्वजनिक यातायातका साधन ग्यारेजमा थन्क्याएका व्यवसायीहरूले अब भने गाडी चलाउने भएका छन्‌ । नेपालको सार्वजनिक यातायातमा निजी कम्पनीहरूको दबदबा छ ।

गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोध गर्दै यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिएका थिए । यातायात व्यवसायीहरूले गरेको आन्दोलनका कारण देशभरको सार्वजनिक यातायात ठप्प थियो । 

गण्डकी सरकारले एक महिनाका लागि राइड सेयरिङ स्थगन गर्ने निर्णय गरेसँगै व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका हुन् । मंगलबार मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘राइड सेयरिङ’ नियमावली स्थगन गर्न गण्डकी प्रदेश सरकारलाई निर्देशन दिएको थियो ।

त्यसलगत्तै प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयका सचिव कमलकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै एक महिनाको लागि राइड सेयरिङसम्बन्धी सबै प्रावधान स्थगन गरिने जानकारी दिएका हुन् । 

सार्वजनिक यातायात आवागमन नै ठप्प भएपछि केन्द्र सरकारले प्रदेश सरकारलाई मङ्गलबार बेलुकी नियमावली फिर्ता लिन भनेको थियो । प्रदेश सरकारले पनि केन्द्र सरकारको आग्रहअनुसार नियमावली स्थगन गरेको जनाएपछि यातायात व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन्‌ ।