Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

‍‍‍फेवातालको वास्तविक सीमाना छुट्याउन पिल्लर गाड्ने काम शुरु

गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको संयुक्त प्रयासमा फेवा तालघरमा पिल्लर गाड्ने कार्यको शुभारम्भ गरिएको छ । 

शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र महानगर प्रमुख धनराज आचार्यले फेवा तालघरमा पिल्लर गाड्ने कार्यको शुभारम्भ गरेका हुन् ।

नेपाल सरकार, गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको संयुक्त प्रयासमा लामो गृहकार्य पश्चात् गडिएका सीमा स्तम्भले पाँच दशकभन्दा अगाडिदेखि अनुत्तरित रहँदै आएको फेवातालको वास्तविक सीमा सम्बन्धी प्रश्नको जबाफसँगै अनेकन अड्कलबाजी र कौतुहलतालाई मेटाइदिएको छ । 

झन्डै १८ महिनाको निरन्तर अध्ययन तथा सर्वेक्षण पछि फेवा तालको हाई फ्लड लेभल वैज्ञानिक ढङ्गले निर्धारण गरी १०५५ स्थानमा डिजिटल प्रणालीमार्फत सीमा क्षेत्रहरू यकिन गरिएको महानगर प्रमुख आचार्यले जानकारी दिएका छन् ।

यसअघि फेवातालको सिमाङ्कन गरी प्रतिवेदन पेस गर्न गठित प्राविधिक उपसमितिले फेवातालको सिमाना यकिन गर्न डिजिपिएस प्रविधि र ड्रोन सर्वे मार्फत डिटेल सर्वेक्षण गरेको थियो । पछिल्लो रिपोर्ट अनुसार २९ वटा मुख्य आधार विन्दुहरू कायम गरी ४० से.मि उचाइका २९ पिल्लरहरु जमिनमुनि गाडिएका छन् । यसको आधारमा ९ हजार नियन्त्रण बिन्दुहरू कायम गरिएका छन् । 

सिँचाइ डिभिजन कार्यालय कास्कीको विगत १० वर्षको रेकर्ड तथा विभिन्न समयमा बनेका फेवातालका नक्साहरूको अध्ययन पश्चात् फेवातालको हाई फ्लोड लेबल ७९४.९५ मिटर कायम गरिएको  छ । उक्त विन्दुलाई आधार मान्दा तालको ताल घर ६.३४३ वर्ग किलोमिटर अर्थात् १२ हजार ४६८ रोपनी ३ पैसा ३ दाम कायम हुन आएको छ ।