Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

आलमलाई सफाइ दिने न्यायाधीशहरूमाथि कारवाहीको मागसहित उजुरी

पूर्वमन्त्री मोहम्मद आफ्ताव आलम लगायत रौतहट बम विस्फोटमा संलग्नहरूलाई सफाइ दिने फैसला गर्ने दुई न्यायाधीशहरूमाथि छानबिन गरी कारवाही गर्नुपर्ने माग सहित न्यायपरिषदमा उजुरी परेको छ ।

फैसला गर्ने न्यायाधीशहरू डा.खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानबिन गर्नुपर्ने माग राखी युवराज पौडेलले परिषदमा निवेदन दिएका हुन् । उनीहरू पदमा रहँदा न्यायसम्पादन नै प्रभावित हुनसक्ने भन्दै निवेदनमा उनीहरूलाई निलम्बन गरी अनुसन्धान गर्नुपर्ने माग छ । उजुरीमा उनीहरूले विगतमा गरेको फैसलामाथि पनि अध्ययन गर्नुपर्ने माग गरिएको छ । 

यसअघि पीडित एवं साक्षीको संरक्षणका लागि जिल्ला अदालतले नै विशेष प्रकारको आदेश जारी गरेको थियो । जिल्ला अदालतले विभिन्न आधार देखाउँदै व्यक्तिहत्याको आरोपमा आलम लगायतलाई दोषी किटान गरेको थियो । तर जिल्ला अदालतले औँल्याएका आधार एवं मिसिलमा संलग्न प्रमाणहरूको बेवास्ता गरी फैसला गरेको भन्दै उजुरीमा न्यायाधीशहरू थारु र महर्जनमाथि छानबिन हुनुपर्ने माग गरिएको छ । उनले जिल्ला अदालतको फैसला एवं उच्च अदालतबाट मिसिल मगाई अनुसन्धान गर्न माग गरेका छन् ।

न्यायपरिषद ऐनमा कार्यक्षमताको अभाव वा खराब आचरण एवं आचारसंहिताको गम्भीर उल्लङ्घनको आरोपमा न्यायाधीशहरूमाथि छानबिन हुनसक्ने व्यवस्था छ । निवेदनमा कुनै उल्लेख नगरेपछि पौडेलले न्यायाधीशद्वयको कार्यक्षमतामा प्रश्न उठाई निवेदन दिएका हुन् ।

गत बुधवार उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले बम विस्फोटबाट घाइतेहरूलाई ज्युँदै इटाभट्टामा पोलेको आरोप खेपेका कांग्रेसका पूर्वसांसद मोहम्मद आफ्ताब आलम लगायतलाई सफाइ दिने फैसला गरेको थियो ।