'सानजियाङयुआन जहाँ जीवन, जल र संस्कृतिको संगम हुन्छ- त्यहाँबाट जन्मिन्छन् शक्तिशाली नदीहरू'
किम्प–शिजाङ पानोरमा २०२५ को अवसरमा चिनियाँ र नेपाली सहनिर्देशनमा निर्मित वृत्तचित्र ‘जहाँ शक्तिशाली नदीहरू उत्पत्ति हुन्छन्’ (Where the Mighty Rivers Begin) को विशेष प्रदर्शनी त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय, कीर्तिपुरमा सम्पन्न भएको छ।
उक्त वृत्तचित्रले छिंगहाई–तिब्बत पठार मा अवस्थित सानजियाङयुआन (Sanjiangyuan) क्षेत्रलाई केन्द्रमा राख्दै पारिस्थितिक, जैविक र सांस्कृतिक विविधताको गहिरो चित्रण प्रस्तुत गर्छ। "चीनको पानी टावर" मानिने यस क्षेत्रबाट याङ्त्से, ह्वाङ्हो (पहेँलो नदी) र लाङचाङ (मेकोंग नदी) जस्ता तीन प्रमुख नदीहरूकाे उद्गम हुन्छ।

अन्तर्क्रिया र शैक्षिक संवाद
सिने प्रदर्शनपछि आयोजित अन्तरक्रियात्मक सत्रमा निर्देशक, निर्माण टोलीका सदस्य, त्रिविका प्राध्यापक र विद्यार्थीबीच हिमाली वातावरणको संवेदनशीलता, जल स्रोत संरक्षण, जैविक विविधता, र अन्तरसंस्कृतिक संवादका विविध पाटामा गहन छलफल भयो। वक्ताहरूले सानजियाङयुआन क्षेत्रलाई पारिस्थितिक प्रणाली मात्र नभई सांस्कृतिक चेतना र जीवनशैलीको अद्भुत संगमको रूपमा समेत चित्रण गरे।
संस्थागत सहकार्य र सिर्जनात्मक सहभागिता
कार्यक्रम पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग, कन्फुसियस इन्स्टिच्युट र विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय, त्रिभुवन विश्वविद्यालयको संयुक्त पहलमा सम्पन्न भएको हो।

आयोजकहरूका अनुसार यो सहकार्यले नेपाली र चिनियाँ युवाबीचको सिर्जनात्मक आदानप्रदानलाई थप सुदृढ बनाउने र नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय सांस्कृतिक दृश्य–भाषामा संलग्न गराउने अवसर दिएको छ।
सानजियाङयुआन: जल, जीवन र जैविक विविधताको स्रोत
वृत्तचित्रले छिंगहाई–तिब्बत पठारको जैविक र सांस्कृतिक सम्पदालाई दृश्यात्मक माध्यमबाट प्रभावकारी रूपमा प्रस्तुत गर्छ। पग्लँदो हिमाल, दलदली क्षेत्र, झरनाहरू र नदीको शिरस्थान सँगै यो भूभाग साना ऊदबिलाव, तिब्बती मृगका बाछाहरू, र हिउँ चितुवा जस्ता दुर्लभ प्रजातिहरूको महत्त्वपूर्ण वासस्थान पनि हो।

वृत्तचित्रले मानव–प्रकृति सम्बन्ध, पारिस्थितिक सन्तुलन र स्थानीय परम्पराहरू बीचको अन्तरसम्बन्धलाई वैज्ञानिक तथ्यता र भावनात्मक सन्दर्भमा उजागर गर्दै दर्शकलाई चिन्तनशील र संवेदनशील बन्न प्रेरित गर्ने प्रयास गरेको छ।