Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

आईपीएल: रोयल च्यालेन्जर्स बेंगलुरु नौ वर्षपछि फाइनलमा प्रवेश

इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेंगलुरु नौ वर्षपछि फाइनलमा प्रवेश गरेको छ । बिहीबार न्यु चण्डीगढमा पञ्जाबले प्रस्तुत गरेको १०२ रनको सामान्य लक्ष्य बेंगलुरुले १० ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो ।

बेंगलुरुको जितमा ओपनर फिल साल्टले २७ बलमा ५६ रन बनाए । उनले ६ चौका र तीन छक्का प्रहार गरे । मयंक अग्रवालले १९, कप्तान रजित पटिदरले १५ र विराट कोहलीले १२ रन थपे । 

पञ्जाबका काइल जेमिसन र मुशिर खानले समान एक विकेट लिए । त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले १४.१ ओभरमा १०१ रन बनाएको थियो । पञ्जाबका मार्कुस स्टोइनिसले २६ रन जोडे । अज्मतुल्लाह ओमरजाई र प्रभसिम्रनले समान १८ रन थपे । अरू ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।

पञ्जाबलाई सस्तैमा समेट्न जस हेजलवुड र सुयास शर्माले समान तीन विकेट लिए । एस दयालले दुई तथा भुवनेश्वर कुमार र रोमारियो सेफर्डले एक/एक विकेट लिए । 

हालसम्म उपाधि जित्न असफल बेंगलुरु आईपीएलको इतिहासमा चौथोपटक फाइनलमा प्रवेश गरेको हो । बेंगलुरुले यसअघि सन् २००९, २०११ र २०१६ मा प्रतियोगिताको फाइनलसम्मको यात्रा तय गरेको थियो