Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

दुर्गा प्रसाईंका दुबै ‘बडिगार्ड’ रिहा

काठमाडौंको तीनकुनेमा भएको हिंसात्माक राजावादी प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंका दुई बडिगार्डविरुद्ध मुद्दा नचल्ने निर्णय भएपछि रिहा भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले प्रसाईका बडिगार्ड दीपक खड्का र रामकुमार धिमाललाई समेत मुद्दा चलाउन सिफारिस गरेको थियो । तर जिल्ला सरकारी वकिलको कार्यालयले भने वस्तुनिष्ठ आधार प्रमाण नदेखिएको भन्दै उनीहरुलाई मुद्दा नचल्ने निर्णय गरेको थियो।

बडिगार्डद्वयसँगै ३४ जनालाई मुद्दा नचल्ने निर्णय गरिएको थियो। यो निर्णयसँगै उनीहरू आइतबार साँझ हिरासतमुक्त भएका हुन् । खड्का र धिमाल यसअघि प्रसाईसँगै सर्वोच्च अदालतमा प्रवेश गर्दा पनि पक्राउ परेका थिए । अहिले पनि उनीहरूविरुद्ध हातहतियारको कसुरमा मुद्दा विचाराधीन छ।

उनीहरू दुई जनासँगै गोपिकृष्ण खड्का, सन्तोष चौधरी, एनी कुँवर भन्ने अनिता कुँवर, शिशिर जिसी, खेमराज सेढाई, मिनोज थापा र अनिल बस्नेतलाई कसुरमा संलग्न देखिएको प्रमाण नभेटिएको भन्दै रिहा गर्ने निर्णय भएको हो। उनीहरू आइतबार साँझ रिहा भएका हुन्। आपराधिक उपद्रवको कसुरमा अनुसन्धानका लागि म्याद थप गरिएका अरू २६ जनालाई पनि त्यसै दिन रिहा गरिएको थियो । यसअघि उनीहरूलाई पनि विभिन्न कसुरमा संलग्नता देखिएको दाबी गर्दै प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो।

तर प्रहरीले प्रतिवेदन बुझाउँदा प्रमाण दिन नसकेको भन्दै सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको हो । दुर्गा प्रसाईँसहित ६१ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा र चार जनाविरुद्ध बाल अदालत भक्तपुरमा अभियोग दर्ता भएको छ। न्यायाधीश ध्रुवकुमार कार्कीको इजलासमा उनीहरूको बकपत्र भइरहेको छ। यसपछि बहस र थुनछेक आदेश हुनेछ। १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा पक्राउ परेकाहरूविरुद्ध अहिले काठमाडौंमा मुद्दा दर्ता भएको छ। प्रतिवादीहरूको बयान चलिरहेको छ ।