Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

कृष्णबहादुर महराविरुद्ध बलात्कारको आरोप लगाएकी रोशनी शाही आफ्नै कोठामा मृत भेटिइन्

पूर्वसभामुख कृष्णबहादुर महरासँग नाम जोडिएकी संसद् सचिवालयकी पूर्वकर्मचारी रोशनी शाही मृत भेटिएकी छन् ।

उनी आइतबार (आज) दिउँसो भक्तपुरको सूर्यविनायक नगरपालिका बालकोटस्थित आफ्नै कोठामा मृत भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ। शाहीले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध बलात्कारको आरोप लगाएकी थिइन् । सोही आरोपपछि महरा पक्राउ परेका थिए ।   

रोशनी मृत भेटिएको खबर आएपछि अहिले उनको कोठामा प्रहरी पुगेर घटनास्थल जाँच प्रकृति मुचुल्का उठाइरहेको छ । तत्कालीन सभामुख महरालाई रोशनीले काठमाडौंको तीनकुनेस्थित कोठामा बस्दा बलात्कार आरोप लगाएकी थिइन् ।

संसद् सचिवालयमा कार्यरत राेशनीले २०७६ असोजमा महरामाथि बलात्कार आरोप लगाएकी थिइन् । रोशनीको उक्त आरोपपछि महराको राजनीतिक यात्राले पनि ओरालो बाटो समातेको थियो । उक्त प्रकरणमा २०७६ कात्तिक १८ गते जिल्ला अदालत काठमाडौंले जबरजस्ती करणीको प्रयास गरेको आरोप लागेका महरालाई थुनामा पठाउने आदेश गरेको थियो । जिल्ला अदालत काठमाडौंमा न्यायाधीश सुदर्शन पाण्डेको इजलासले महरालाई जेल पठाएको थियो ।

त्यसपछि उनी २०७६ फागुन ५ गते जेलबाट छुटे । जिल्ला अदालत काठमाडौंको आदेशपछि महरा डिल्लीबजार कारागारमा १३३ दिन बसेर रिहा भएका थिए । महरा जेल गए पनि रोशनीले सामाजिक सञ्जालमा उक्त प्रकरणबारे लेखिरहन्थिन् । महरासहितका नेताहरूको पनि फोटो हाल्दै उनले गरेको बदनामीबाट महरा पछिल्लो समय पनि तनावमा हुन्थे ।