Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

नेपाल थाइल्याण्डसँग पराजित

आईसीसी महिला टी–२० क्रिकेट विश्वकपको एशिया छनोटअन्तर्गत ‘सुपर थ्री’ को अन्तिम खेलमा नेपाल घरेलु टोली थाइल्याण्डसँग ७८ रनले पराजित भएको छ। 

थाइल्याण्डले दिएको १५९ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ८० रन मात्र बनाउन सक्यो। नेपालकी कविता कुँवरले सबैभन्दा धेरै २४ रन बनाइन् । थाइल्याण्डकी ओनिचा कम्चोम्फुले ह्याट्रिकसहित ४ विकेट लिइन्।

यसअघि टेर्डथाई क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा २ विकेट गुमाउँदै १५८ रन बनायो। थाइल्याण्डका नाट्या बोचाथम र नन्नापट कोन्चारोन्काईले अर्धशतक बनाए । 

नेपालका राजमती ऐरी र मनिषा उपाध्यायले १/१ विकेट लिए। नेपाल र थाइल्याण्ड यसअघि नै एशियाको प्रतिनिधित्व गर्दै विश्वकप छनोटमा पुगिसकेका छन्। विश्वकप छनोटमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन्। विश्वकप छनोट शीर्ष ४ टोली इङ्ग्ल्याण्डमा सन् २०२६ मा हुने टी–२० विश्वकपमा पुग्ने छन्।