Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

कप्तान इन्दुले मनिषालाई दिइन् आफूले पाएको ‘प्लेयर अफ दि म्याच’ अवार्ड

आइसीसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को खेलमा युएईलाई ५ विकेटले पराजित गर्दै नेपाल विश्व छनोटमा पुगेको छ।

सोमबार थाइल्यान्डमा भएको खेलमा नेपालले महत्वपूर्ण खेलमा जित निकालेपछि सुपर–३ को शीर्ष दुई स्थान पक्का गरेको हो । खेलपछि नेपालकी कप्तान इन्दू बर्माले मिहिनेतको फल पाएको प्रतिक्रिया दिएकी छन् । प्रिजेन्टेसन समारोहमा उनले खेलले नर्भस बनाएको बताइन् ।

‘तर हामीले अन्त्यमा दबाब झेल्न सक्दा जित निकाल्यौ। यो महिला क्रिकेटको ऐतिहासिक जित समेत हो,’ उनले भनिन्। खेलपछिको पोस्ट म्याच प्रेजेन्टेसनमा इन्दुले आफूले पाएको ‘प्लेयर अफ दि म्याच’को अवार्डको हकदार मनिषा उपाध्याय भएको भन्दै उनलाई बोलाएर त्यो अवार्ड दिइन् । कप्तान इन्दुले आजको खेलमा जितको हकदार सबै भए पनि मनिषाको प्रदर्शन उत्कृष्ट रहेको र त्यसलाई शब्दमा बयान गर्न नसकिने बताइन् ।

मनिषाले यूएईविरुद्ध ४ विकेट आफ्नो नाममा गरेकी थिइन् । उनले आफ्नो स्पेलमा मात्र २० रन खर्चिइन् । इन्दुले आफूलाई दिएको सो अवार्ड मनिषाले भने पूर्व कप्तान रुबिना क्षेत्रीलाई समपर्ण गरिन् । अब नेपालले यसै वर्ष विश्व छनोट खेल्ने छ। विश्व छनोटमा १० टोली भिड्ने छन्। १० मध्ये चार टोली सन् २०२६ मा इंग्ल्यान्डमा हुने आइसिसी महिला टी–२० विश्वकपमा छनोट हुनेछन् ।‍