Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

युएईलाई हराउँदै नेपाल पहिलो पटक विश्वकपको ग्लोबल छनोटमा

नेपाल आईसीसी टी–२० महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट भएको छ। थाइल्याण्डको बैंककमा जारी एसिया क्षेत्र छनोट अन्तर्गत सुपर थ्रीमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई पराजित गर्दै नेपाल एक खेल अगावै ग्लोबल क्वालिफायरमा छनोट भएको हो।

बैंककस्थित टर्डथाई क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गर्दै यूएईले दिएको ११५ रनको लक्ष्य नेपालले १९ दशमलव ३ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालका लागि कप्तान इन्दू वर्माले अविजित सर्वाधिक ३० रन बनाइन्। उनको कप्तानी इनिङ्समा नेपालले ग्लोबल क्वालिफायरमा स्थान बनाउन सक्यो। यस्तै रुविना क्षेत्रीले २३ रन बनाउँदा सम्झना खड्काले २१ रन बनाइन्।

यूएईका तर्फबाट बलिङमा इसा रोहित ओजा, एस कोटे र वैष्णवी महिसले एक-एक विकेट लिए। त्यसअघि पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनाएको थियो । यूएईका लागि इसा रोहित ओजाले सर्वाधिक ३९ रन बनाइन्। यस्तै त्रीथा सतिशले २१, हीना हरिस होचन्दानीले २० र लाभण्या केनीले १२ रन बनाइन्। नेपालका लागि मनिषा उपाध्याले सर्वाधिक चार विकेट लिइन् । चार ओभरमा २० रन खर्चिदै उनले चार विकेट लिएकी हुन्।

यस्तै कविता कुँवर दुई र राजमती ऐरीले एक विकेट लिए । जित्नै पर्ने दबाबपूर्ण खेलमा नेपालले शानदार पाँच विकेटको जित निकाल्यो । अब बाँकी थाइल्याण्डसँगको खेल हारे पनि नेपाललाई कुनै असर नपर्ने भएको छ। यूएई भने सुपर थ्रीमा दुबै खेल हार्दै प्रतियोगिताबाटै बाहिरिएको छ । एसिया छनोटको ‘सुपर थ्री’ मा आइतबार युएईलाई ५४ रनले पराजित गर्दै थाइल्यान्डले ग्लोबल छनोटमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ। थाइल्यान्डले आठ अंक पुर्‍याएको छ।