Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

विराट कोहलीद्वारा सन्यासको घोषणा, एक युगको अन्त्य

भारतीय क्रिकेटका स्टार खेलाडी विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन्। उनले १४ वर्ष लामो टेस्ट यात्रालाई भावुक रुपमा बिदाइ दिएका हुन्।

आगामी इंग्ल्याण्ड भ्रमण सुरु हुन एक महिना बाँकी रहँदा कोहलीले यो निर्णय लिएका हुन्। ३६ वर्षीय कोहलीले केही दिनअघि टेस्ट क्रिकेटबाट विदा लिएका रोहित शर्मापछि आफू पनि यो फर्म्याटबाट टाढिने निर्णय गरेका हुन्। शनिबार बिहान उनको सन्यासको खबर सार्वजनिक भएपछि भारतीय क्रिकेट जगतमा हलचल मच्चिएको छ।

कोहलीले आफ्नो अन्तिम टेस्ट खेल अष्ट्रेलियाविरुद्ध सन् २०२५ को जनवरीमा सिड्नीमा खेलेका थिए। सो खेलमा उनले पहिलो इनिङमा १७ रन र दोस्रो इनिङमा ६ रन बनाएका थिए। पछिल्लो टेस्ट श्रृंखला बर्डर-गावस्कर ट्रफीमा भारत १-३ ले पराजित भएको थियो। यद्यपि, पहिलो खेलमा उनले एक उत्कृष्ट शतक प्रहार गरेका थिए।

virat 2.jpg

कोहलीले आफ्नो टेस्ट करियर सन् २०११ मा वेस्टइन्डिजविरुद्ध किंग्सटनमा सुरुवात गरेका थिए। उनले आफ्नो पहिलो टेस्ट खेलमा ४ र १५ रन बनाएका थिए। 

कोहलीले आफ्नो टेस्ट करियरमा १२३ खेल खेलेका छन् र ४६.८५ को औसतले ९२३० रन बनाएका छन्। उनी टेस्ट क्रिकेटमा भारतका लागि सर्वाधिक रन बनाउने खेलाडीहरूको सूचीमा चौथो स्थानमा छन्। उनले सचिन तेन्दुलकर (१५,९२१ रन), राहुल द्रविड (१३,२६५ रन) र सुनिल गावस्कर (१०,१२२ रन) पछाडि स्थान बनाएका छन्। यद्यपि उनी अझै १०,००० रनको आँकडा पार गर्न सकेका छैनन्।

कोहलीले सामाजिक सञ्जालमार्फत लेखेका छन्, "टेस्ट क्रिकेटमा खेल्न थालेको १४ वर्ष भइसक्यो। मैले कहिल्यै सोचेको थिइनँ कि यो यात्राले मलाई यति धेरै कुरा सिकाउनेछ। यसले मलाई परिक्षामा पार्‍यो, जीवनका ठूला पाठहरू सिकायो र आज म जहाँ छु, त्यहाँ पुर्‍यायो।"

New Project (18).png

उनले थप्दै भने, "अब यो फर्म्याटबाट बिदा लिन सजिलो छैन, तर यो सही समय हो जस्तो लाग्छ। मैले टेस्ट क्रिकेटलाई जति सकिन्छ, सबै दिएँ। यसले मलाई त्यसभन्दा धेरै फिर्ता दिएको छ। म खेलप्रति, टिमप्रति र सबै समर्थकप्रति आभारी छु। म सधैं यो यात्रालाई गर्वका साथ सम्झिरहनेछु।"

कोहलीको भारतका सबैभन्दा सफल टेस्ट ब्याट्सम्यानमध्ये एक हुन्। कोहलीको यो निर्णयले भारतीय क्रिकेटमा एउटा युगको अन्त्य मात्रै गरेको छैन, अनगिन्ती क्रिकेटप्रेमीहरूलाई भावुक पनि बनाएको छ।