Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

धरानबाट चोरी भएको बस विराटनगरमा भेटियो

सुनसरीको धरानबाट चोरी भएको एउटा बस विराटनगरमा भेटिएको छ ।

विराटनगर ल्याएर पाटपुर्जा निकालेर बेच्न ठिक पारेको अवस्थामा प्रहरीले उक्त बस फेला पारेको हो । धरान उपमहानगरपालिका–८ दुर्गापथस्थित ग्यारेजबाट प्रदेश १-०२-००१ ख ९७४९ नम्बरको बस हराएको थियो । मंगलबार दिउँसो विराटनगर महानगरपालिका–१२ मा अवस्थित मंगलबारेमा बस भेटिएको हो । 

शुक्रबार राति धरानबाट बस हराएको प्रहरीले जनाएको छ । बसका पाटपुर्जा भने विराटनगर–६ स्थित गीतादेवी साहको कवाडी गोदाममा फेला परेको छ । सिसाको माथिल्लो भागमा सिद्धदेवी यातायात र तल्लो भागमा याक्थुङ यातायात लेखिएको छ । धरानबाट चोरी भएको बस पूर्वपश्चिम हाइवेमा पर्ने खोर्सानेसम्म पुगेको सीसीक्यामेरामा देखिएको प्रहरीले जनाएको छ । 

बस कसले चोरेर विराटनगर ल्याएको थियो भन्ने खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बेबारिसे अवस्थामा बस देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।‌