Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

युवा वैज्ञानिक मार्शल बलात्कार मुद्दामा दोषी ठहर, सात वर्ष जेल सजाय

दाङका युवा वैज्ञानिक मार्शल रोकालाई बलात्कार अभियोगमा सात वर्ष कैद र जरिवाना सजाय भएको छ। तुलसीपुर–९ की एक ३२ वर्षीय महिलालाई बलात्कार गरेको कसुरमा घोराही–१६ का २८ वर्षीय युवा वैज्ञानिक रोकालाई हिजो दाङ जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलले सात वर्ष कैदको फैसला सुनाएका हुन् ।

अदालतका श्रेष्तेदार दामोदर घिमिरेका अनुसार रोकालाई सात वर्ष कैदका साथै तीन लाख जरिवाना, ४० हजार क्षतिपूर्ति र एक हजार ३ सय राहत कोषमा जम्मा गर्ने फैसला भएको छ ।

पीडितले बलात्कार कसुरमा २०८० जेठ १६ गते जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएकी थिइन् । प्रहरीले आरोपित रोकालाई जेठ १७ गते घरबाटै पक्राउ गरी २०८० असार १० गते जबरजस्ती करणीसम्बन्धी मुद्दा चलाएको थियो ।

उनले झारपातबाट ग्याँस उत्पादन गर्नुका साथै सल्लाको खोटोबाट उत्पादन गरिएको तेलले मोटरसाइकल चलाएर सफल परीक्षण गरेका थिए । उनले बनाएको खोटोको एक लिटर तेलले मोटरसाइकल १०० किलोमिटर गुडेको थियो ।

उनलाई लुम्बिनी प्रदेश सरकारले युवा वैज्ञानिकका रूपमा सम्मान समेत गरेको थियो ।