Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

चन्द्रागिरिको स्वेच्छक मूल्याङ्कन कार्ययोजना ढाँचा प्रतिवेदन सार्वजनिक

चन्द्रागिरि नगरपालिकाको दिगो विकास लक्ष्यको स्थानीय स्वैच्छिक मूल्याङ्कन प्रतिवेदन (नेपाली संस्करण) र कार्ययोजना ढाँचा सार्वजनिक गरिएको छ ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले ‘चन्द्रागिरि नगरपालिकाको ‘दिगो विकास लक्ष्यको स्थानीय स्वेच्छिक मूल्याङ्कन प्रतिवेदन’ लाई संयुक्त राष्ट्र संघमा प्रस्तुत गरिसकेका छन् । नगरपालिकाले स्थानीय स्वेच्छिक मूल्याङ्कन प्रक्रियामा दिगो विकास लक्ष्य मध्ये राम्रो स्वास्थ्य र समृद्धि, समावेशी तथा समानता मूलक गुणस्तरीय शिक्षाको सुनिश्चितता, लैङ्गिक समानता, स्वच्छ खानेपानी, सरसफाइ र दिगो शहर र समुदाय जस्ता पाँचवटा क्षेत्रलाई मुख्य प्राथमिकता दिएको छ ।

यी प्राथमिकता प्राप्त लक्ष्य प्राप्तिका लागि नगरपालिकाको कार्यक्रमले सही बाटोमा हिँडाएको छ । नगरपालिकाले दिगो विकास लक्ष्यसँग तालमेला मिलाइएको बजेट सांकेतिकरणको अभ्यास थालिनी समेत गरिसकेको छ । यो अभ्यास एशिया प्रशान्त क्षेत्रमा नै एक नवप्रवर्तनीय अभ्यास मानिएको छ ।

नगरपालिकाको सभाकक्षमा हालै आयोजित कार्यक्रममा चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरी, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर, युएन ह्याविट्याटका प्रतिनिधि प्रज्ञा प्रधान लगायतले ‘दिगो विकास लक्ष्यको स्थानीय स्वेच्छिक मूल्याङ्कन प्रतिवेदन’ (नेपाली संस्करण) र कार्ययोजना ढाँचा सार्वजनिक गरे ।

सो अवसरमा नगर प्रमुख गिरीले समृद्धिको आधार भौतिक पूर्वाधारका साथ साथमा आर्थिक, सामाजिक र प्रविधियुक्त समाज भएको बताए । उनले भने, ‘मैले चन्द्रागिरि नगरपालिकाको दिगो विकास लक्ष्यको स्थानीय स्वेच्छिक मूल्याङ्कन प्रतिवेदन संयुक्त राष्ट्र संघमा प्रस्तुत गरिसकेको छु । दिगो विकासका विभिन्न लक्ष्यमध्ये पाँचवटा क्षेत्रमा नगरपालिकाले उच्च प्राथमिकता दिएको छ । लक्ष्य प्राप्तिका लागि नगरका नीति, कार्यक्रम र बजेट केन्द्रित छन् ।’

सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगरले दिगो विकास लक्ष्यलाई हाँसिल गर्न नगरका नीति, कार्यक्रम र बजेट केन्द्रित रहेको जानकारी दिए । सोही अवसरमा युएन ह्याविट्याटका प्रतिनिधि प्रधानले ‘दिगो विकास लक्ष्यको स्थानीय स्वेच्छिक मूल्याङ्कन प्रतिवेदन’ को महत्वका बारेमा जानकारी दिएका थिए । कार्यक्रममा नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो भने कार्ययोजना ढाँचाका बारेमा पनि प्रस्तुति गरिएको थियो ।