Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

जनकपुरबाट ठूलो मात्रामा लागुऔषध गाँजासहित एक जना पक्राउ

जनकपुरबाट करिब पाँच क्वीन्टल लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरिएको छ । लागुऔषध नियन्त्रण ब्यूरो शाखा बर्दिवासबाट खटेको टोलीले जनकपुर–ढल्केवर ६ लेन सडक खण्डअन्तर्गत करिब ४ क्वीन्टल ७७ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको हो ।

शुक्रबार साँझ विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नीरिक्षक सँजीप कुमार यादवको कमाण्डमा गएको टोली, लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास, प्रहरी चौकी लक्ष्मिनियाको टोलीले गाँजासहित पक्राउ गरेको हो ।

ढल्केबरतर्फबाट जनकपुरतर्फ आउदै गरेको मधेश प्रदेश–०३–००२ ख २५२० नम्बरको निलो रंगको आयसर मिनि ट्रकलाई धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नं. ७ लक्ष्मिनिया चोकस्थित ढल्केबर–जनकपुर सडकखण्डमा रोकी चेकजाँच गर्ने क्रममा भेटिएको हो ।

मिनि ट्रकको माथिल्लो भागमा डोरी बाँधी सोही डोरीमाथि रातो प्लास्टिक भित्र खैरो डोरीले बाँधी लुकाई छिपाई राखी ल्याउँदै गरेको अवैध लागुऔषध गाजाँ ३४ पोका बरामद गरिएको जनाइएको छ । 

गाँजा, मिनि ट्रक चालक जिल्ला मकवानपुर थाहा नगरपालिका वडा नम्बर २ बस्ने बुद्धिबहादुर सिन्तानको छोरा अन्दाजी वर्ष २५ को संजिव सिन्तानसहित मिनि ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको जनाइएको छ ।