Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

रवि लामिछाने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगे

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत पाटन पुगेका छन् ।

सहकारी ठगी मुद्दामा जिल्ला अदालतको फैसला बदरको माग गर्दै लामिछानेले दिएको निवेदन दर्ता भइसकेको उच्च अदालत पाटनको सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् । उनका अनुसार निवेदनमा पहिलो सुनुवाइ गर्नका लागि सोमबारलाई पेशी तोकिएको छ ।

कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगी मुद्दामा लामिछानेलाई काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । उक्त सहकारी ठगी प्रकरणमा ६९० जनाले ९३ वटा जाहेर दिएका छन् । सहकारीमा ५ हजार ६६९ जना बचतकर्ताको २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ अपचलन भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा ६४ करोड ८३ लाख ३८ हजार ४ सय ६५ रुपैयाँ कारोबार भएको प्रहरीको अनुसन्धानले देखाएको छ ।