Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

इन्टरपोलबाट रेड नोटिस जारी भएका बुढाथोकी विमानस्थलबाटै पक्राउ

जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एक फरार प्रतिवादीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुली कमलामाई नगरपालिका–२ चियाबारी बस्ने २७ वर्षीय आशिष बुढाथोकी रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए । आचार्यका अनुसार प्रहरीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

जबरजस्ती करणी मुद्दामा फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट अनुरोध भएपश्चात एनसिबि काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२५ फेब्रुअरी १४ मा उनीविरुद्ध रेड नोटिस जारी भएको थियो ।

पक्राउ परेका बुढाथोकीलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुली पठाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।