काठमाडौंमा आज आइतबार भएको राजावादीको प्रदर्शनमा भारतीय मुख्यमन्त्रीको पनि तस्वीर देखिएको छ । प्रदर्शनका क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहसँगै भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पनि तस्वीर देखिएको हो । प्रदर्शनस्थलमा एकातिर आदित्यनाथ र अर्कोतिर ज्ञानेन्द्र शाहको तस्बिर प्रयोग भएको अनौठो दृष्य देखिएको छ ।
गत माघ १७ गते पूर्व राजा ज्ञानेन्द्र शाह उत्तर प्रदेशको गोरखपुर पुगेका थिए । त्यहाँ उनले उत्तर प्रदेशमा मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटेका थिए । उनी गोरखपुरबाट फर्केसँगै वर्तमान व्यवस्थाविरुद्ध मुख खोलेका थिए । नेपाल हिन्दू राष्ट्र हुनुपर्ने माग राख्दै आएका आदित्यनाथसँगको भेटपछि नेपालमा राजावादी जुर्मुराउनु साथै प्रदर्शनमा आदित्यनाथको तस्वीर नै प्रयोग गरेपछि संशय उत्पन्न भएको छ ।

राजनीतिक दलका नेताहरूले भारतीय उक्साहटमा नै यो प्रदर्शन भएको आरोप लगाइरहेका छन् । कतिपयले प्रदर्शनका लागि भारतले ठूलो रकम लगानी नै गरेको बताउँछन् । यो तस्वीर प्रदिपविक्रम राणा भन्ने व्यक्तिले हिन्दु राज्य स्थापनाको ब्यानरसहित प्रायोजन गरेका हुन् । सुकेधाराबाट चाबहिल हुँदै आउने जुलुसका सहभागीले योगीको तस्वीरसहित प्रदर्शन गरेका थिए ।
योगीले नेपाल हिन्दु राज्य हुनुपर्छ भनेकाले उनको समर्थनमा उक्त ब्यानर प्रदर्शन गरिएको सहभागीले बताएका छन् । उक्त ब्यानरमा नामै राखेर प्रायोजन गर्ने प्रदिप विक्रम राणा कुनै बेला राप्रपाका नेता थिए । २०७३ सालको महाधिवेशनमा कमल थापासँग अध्यक्ष पदमा उम्मेदवार बनेर पराजित भएका राणा हाल आफूहरुसँग भने नरहेको राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले बताएका छन् ।
आफूलाई हिन्दूवादी भनेर चिनाउने राणा अहिले राप्रपा र राप्रपा नेपाल दुवै पार्टीमा नरहेको दावी ती पार्टीका नेताले गरेका छन् । राजावादीका फरक–फरक झुण्ड भएकाले आजको प्रदर्शनमा भएका गलत हर्कतको जिम्मा लिने कोही नभएको नेताहरुले बताएका छन् । यसैबीच राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले पनि प्रदिप विक्रम राणा अहिले आफ्नो पार्टीमा नरहेको बताए । उनले २०७३ सालको महाधिवेशनमा अध्यक्षमा पराजित भएदेखि नै उनी कमल थापासँग नरहेको दाबी गरे ।