Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

बैकिङ कसुरको मुद्दामा उद्योगका मालिक सुनिल पक्राउ

रूपन्देहीको ओम सतिया स्थित इश्रावती स्टिल उद्योगका मालिक सुनिल यादव पक्राउ परेका छन् । उनी बैकिङ कसुरको मुद्दामा पक्राउ परेको काठमाडौ प्रहरी परिसरका प्रवक्ता एवं एसपी अपिल बोहराले जानकारी दिए ।

उद्योगका मालिक सुनिल यादव काठमाडौंका गोपाल श्रेष्ठको जाहेरीले पक्राउ परेको पनि एसपी बोहराले जानकारी दिए । श्रेष्ठलाई दिएको ९ लाख रूपैयाँको चेक बारम्बार नसाटिए पछि गोपालले प्रहरी समक्ष उजुरी दिएको र उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनी बिरूद्व यसबाहेक अन्य बैकिङ कसुरका उजुरीहरू पनि रहेको खुलेको छ। उनी यसअघि रूपन्देही प्रहरीको संरक्षणमा पीडितले उजुरी दिएपनि पक्राउ नपरि जोगिदै आएका थिए । 


उनले बैंक तथा बित्तिय संस्थाबाट नभई व्यक्तिसंग सापटी भन्दै ठूलो रकम लिने अनि चेक दिने तर उक्त चेक नसाटिने मात्रै होइन कि उल्टो रकम दिनेको बिरूद्व अनुचित लेनदेनमा मुद्दा हालेर दुख दिने काम पनि गर्दै आएका छन् । यस्तै गरेर ज्ञानेन्द्र पाण्डेलाई दुख दिएका छन् । 

ज्ञानेन्द्र पाण्डेसंग रकम लिएर नदिएपछि चेक बाउन्नमा पाण्डेले उनी बिरूद्व उजुरी दिए पनि रूपन्देही प्रहरीले उल्टो यादवको पक्षमा लागेको देखिएको छ । रकम माग्न कारखानामा पुगेका पाण्डेलाई इश्रावती स्टिलका मेनेजर भारतीय नागरिक राहुल भन्ने अमरेश यादवले उल्टो कुटपिट गरेर लखेटेका थिए । 

आंफुलाई कुटपिट गरेको घटनामा पाण्डेले जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा निवेदन दिन लागेपनि प्रहरीले निवेदन दर्ता नगरेको पाण्डेले बताए । पाण्डेले अभद्र व्यावहारमा निवेदन दिन लागेको भए पनि प्रहरीले दर्ता गरेको छैन । सुनिल यादव अहिले काठमाडौंमा प्रहरी हिरासतमा छन् भने उनका भाइ अनिल यादव पनि फरार छन् । 

उक्त कारखाना पहिले सुनिल र अनिल यादवको नाम रहेको थियो तर अनिल बैंकिङ कसुरमा फरार भए पछि उद्योगको शेयर बाबुको नाममा सारेको देखिन्छ । गोपाल श्रेष्ठ , ज्ञानेन्द्र पाण्डेको मात्रै होइन यादवले दिएको अमिन खांन भन्ने व्यक्तिको झण्डै दुई करोडको चेक पनि नसाटिएको पनि थाहा भएको छ । गोपाल श्रेष्ठको यो ९ लाखको मात्रै होइन अरू तीनवटा चेक बाउन्सका केशहरू पनि उपत्यकाका प्रहरीमा रहेका छन् ।