भारतमा निर्वासित जीवन बिताइरहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसीनाले छिटै स्वदेश फर्कने घोषणा गरेकी छन्। उनले बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले अस्तव्यस्त बनाएको आरोप लगाएकी छन्।
एक भीडियो सन्देश जारी गर्दै ढाका फर्किएर युनुसका गैरकानूनी कामको जाँच गराई जनतालाई न्याय दिलाउने बताइन्। प्रधानमन्त्री रहेका वेला ठूलो विरोध प्रदर्शन र हिंसा भएपछि उनी सन् २०२४ को अगस्त ५ तारिखमा ढाका छोडेर भारत शरण लिन पुगेकी थिइन्।
अवामी लीग पार्टीकी नेता शेख हसीनाले भनिन्‚ ‘म स्वदेश फिर्ता आउनेछु र सबैको जाँच गर्नेछु। मोहम्मद युनुसको सरकारले आतंकवादीलाई खुला छुट दिएको छ। उनीहरूले मान्छेको हत्या गरिरहेका छन् र लुटपाट मचाइरहेका छन्। बंगलादेशका संस्थाहरू अवैध कब्जा गरे। म स्वदेश फिर्ता भएर जनतालाई न्याय दिलाउनेछु।'
हसीनाले युनुसमाथि आतंकवादीलाई खुलेआम छुट दिएको र देशका सार्वजनिक संस्थाहरूमाथि अवैध कब्जा गराएको आरोप लगाइन्। उनले स्वदेश फर्किने वाचा गर्दै पीडितलाई न्याय दिलाउन युद्ध लड्ने बताइन्। उनले बंगलादेशमा हुने आगामी निर्वाचनमा अवामी लीगको नेतृत्व गर्ने संकेत गरेकी छन्।
यद्यपि मोहम्मद युनुस सरकारले भने हसीनाको दल अवामी लीगलाई आगामी चुनावमा भाग लिन नदिने घोषणा गरेको छ। हसीनालाई देश छोड्न बाध्य बनाउने विद्यार्थीहरूले पनि शुक्रवार राजनीतिक दल बनाएको घोषणा गरेका छन्। उनीहरूले नेशनल सिटिजन पार्टी (एनसीपी) खोलेका हुन्। यसबाट हसीनाको अवामी लीग र विद्यार्थीहरूको दलबीच प्रतिस्पर्धा हुने स्पष्ट देखिएको छ।
मोहम्मद युनुसको अन्तरिम सरकारमा सल्लाहकार बनेका छात्रनेता नाहिद इस्लामले दल खोल्नलाई केही दिनअघि सरकारबाट राजीनामा दिएका थिए। उनले सूचना एवं प्रसारण मन्त्रालय हेर्दै आएका थिए।