Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

कालिञ्चोक क्षेत्रमा बाक्लो हिमपात, पर्यटकहरू हिउँमा रमाउँदै

जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोक क्षेत्रमा शनिबार बाक्लो हिमपात भएको छ। शुक्रबार बेलुका देखिनै चिसो बढेको कालिञ्चोक शुक्रबार मध्यराति देखिनै हिमपात सुरु भएको छ।

कालिञ्चोक तथा शैलुङमा गत वर्षहरुमा मंसिर र पुषमै हिमपात हुने गरे पनि यस वर्ष आधा फागुनमा हिमपात भएको हो। गत माघमा आंशिक हिउँ परे पनि शनिबार भने बाक्लो हिमपात भएको हो।

कालिञ्चोकको कुरी तथा आसपासको क्षेत्रमामा हिमपात सुरु भएपछि यहाँ शनिबार बिहान देखिनै आन्तरिक तथा बाह्य पर्यटक तथा कालिञ्चोक मन्दिर दर्शन गर्न गएका भक्तजनहरू हिउँसँग रमाइरहेका छन् ।

यता कुरी हुँदै सदरमुकाम चरिकोट र दोलखा भिमेश्वर मन्दिर ओहोरदोहोर गर्ने सवारीका साधनलाई भने सडक क्षेत्रमा खसेको हिउँले सवारी ओहोरदोहोरमा सकस भएको छ। जिल्लाका केही क्षेत्रमा शुक्रबार देखिनै सामान्य हिउँदे वर्ष पनि भइरहेको छ।

फागुनमा परेको हिउँ तथा वर्षाले हिउँदे बालीलाई राहत मिलेको छ। हिउँदे वर्षा तथा हिमपात नहुँदा जिल्लाका किसान चिन्तित थिए। हिउँदे बाली गहुँ,आलु,मकै तथा तरकारीलाई हिउँदे वर्षा तथा हिमपातले राहत पुग्ने देखिएको छ।

जिल्लाको तल्लो क्षेत्रमा भने हिउँदे वर्षा नहुँदा किसान चिन्तित छन् । शनिवार जिल्लाका माथिल्लो क्षेत्रमा हिउँदे वर्षा भए पनि तल्लो क्षेत्रमा वर्षा नभएको पाइएको छ।