Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

‘अनियन्त्रित’ भ्यान घरभित्रै छिर्दा एक बालकको मृत्यु, तीन जना घाइते

अनियन्त्रित रुपमा गुड्दै आएको भ्यान घरभित्र छिर्दा नेपालगञ्जमा एक जना बालकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका– १२ बेलासपुरस्थित पार्किङमा रहेको भे १ च ३८९५ नम्बरको पिकअप भ्यान निकाल्ने क्रममा अनियन्त्रित भई स्थानीय सञ्जय सिलवालको घरमा छिरेको थियो । त्यस क्रममा ६ वर्षीय बालक दृश्यसिंह बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । घटनामा ४३ वर्षीय सञ्जय सिलवाल पनि घाइते भएका छन् ।

उनको नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ । उनको खुट्टा भाँचिएको छ । यस्तै घाइते अन्य दुई जनामा ६ वर्षीया सृष्टि गौतम र ८ वर्षीय सञ्जीव सिलवाल रहेका छन् ।

उनीहरूको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहरीले भ्यान चालक कोहलपुर नगरपालिका–२ बस्ने २३ वर्षीय सुरज थारू र नेपालगञ्ज उपमहानगरपालिका–१३ बुलबुलिया बस्ने ३८ वर्षीय लियाकत अलीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।