Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

कान्ति ताल आसपासका पूर्वाधार जीर्ण

संरक्षण अभावमा यहाँको नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीस्थित कान्ति ताल आसपासमा निर्मित पूर्वाधार जीर्ण बन्दै गएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले करोडौं खर्च गरेर निर्माण गरेको रेलिङ भत्किएका छन् । फलामका पाइप चोरी भएको स्थानीय चक्र बुढाले बताए ।

‘तालमा वरिपरि बनाएका संरचना तोडफोड भएका छन्’, उनले भने, ‘सुरक्षाका लागि सरोकारवाला निकायलाई पटक पटक खबर गरे पनि सुनुवाइ भएको छैन ।’ करिब एक हजार आठ सय मिटर रेलिङमध्ये तीन सय मिटर रेलिङ तोडफोड गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले २०७५ सालमा कान्ति ताललाई व्यवस्थित गरेर पर्यटकीयस्थलका रूपमा विकास गर्ने योजना अघि बढाएको थियो । ताल वरिपरि पर्खाल लगाउने, रेलिङ राख्ने र ताललाई परिक्रमा गर्ने फुटपाथ र नालीसहितको सडक निर्माण गरिएको छ ।


ताल सञ्चालनका लागि वार्षिक रु २८ लाख उपमहानगरपालिकालाई राजस्व बुझाउनेगरी ठेक्का लिएका ठेकेदार फनबहादुर गुरुङले लागुऔषध प्रयोगकर्ताहरूले रेलिङ तोडफोड गरेको हुनसक्ने बताउँछन् । तालका संरचनाको सुरक्षा जिम्मा पनि ठेकेदार पक्षकै रहेको छ । त्यसका लागि ठेकेदार पक्षले एकजना चौकीदार खटाएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले रातको समयमा लागुऔषध दुव्र्यसनीहरूले तालको संरचना तोडफोड र चोरी गरेको हुनसक्ने अनुमान गरिएको बताए । उनले त्यस्ता गतिविधि रोक्ने विषयमा ठेकेदार पक्षलाई सचेत गराइएको जानकारी दिए ।