Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

उपेन्द्र यादवले एक्लौटी पार्टी चलाउन थालेपछि हामी अलगिन बाध्य भयौंः अशोक राई

जनता समाजवादी पार्टीका नेताहरुले उपेन्द्र यादवले एकलौटी पार्टी चलाउन थालेपछि वाध्य भएर आफूहरु अलगिएको टिप्पणी गरेका छन् । जनकपुरधाममा शुक्रबार अबेर साँझसम्म चलेको जसपाको मधेश प्रदेश अगुवा कार्यकर्ता भेला कार्यक्रममा सहभागी नेताहरूले यस्तो टिप्पणी गरेका हुन् ।

कार्यक्रममा जसपा अध्यक्ष अशोक राईले उपेन्द्र यादवप्रति टिप्पणी गर्दै एउटा मान्छेको खेला जस्तो पार्टी भएपछि आफूहरू अलग भएको बताए । उनले यादवले पार्टीलाई व्यवस्थित गर्न नसकेको, बैकल्पिक शक्ति बनाउन नसकेको र एउटा मान्छेको खेला जस्तो पार्टी भएपछि अलग भएको बताए ।

अध्यक्ष राईले अन्यायमा परेका सबै उत्पीडित जनतालाई न्याय दिलाउन पनि जसपा पुनर्गठित गरेको बताए । उनले कुनै किसिमको अन्यौलमा नबसी उत्साहका साथ जसपालाई वैकल्पिक शक्ति बनाउनका लागि अगाडि बढ्न नेता तथा कार्यकर्ताहरूलाई आग्रह समेत गरे । कार्यक्रममा सहअध्यक्ष रेणुकुमारी यादवले उपेन्द्र यादवमाथी आफू बाहेक अरुलाई नेता बनाउनै नचाहेको आरोप लगाइन् । उनले अपमान सहेर पार्टीमा बस्न नसकेपछि आफूहरू अलग भएको पनि बताइन् ।

सहअध्यक्ष यादवले मधेशका जनतालाई हातमा हात राखेर नबस्न अनुरोध गर्दै प्रदेशमा सात वर्षमा भएको बजेट खर्चको हिसाब नेताहरूसँग लिनसमेत आग्रह गरिन् । त्यसैगरी, जसपाका नवनिर्वाचित मधेश प्रदेश समितिका अध्यक्ष अशोक यादवले मधेशको हकहितका लागि संघर्ष गरिरहने प्रतिबद्धता जनाए । कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा पार्टीका उपाध्यक्ष नवलकिशोर साह, खानेपानी मन्त्री तथा पार्टीका उपमहासचिव प्रदीप यादवलगायत नेता तथा कार्यकर्ता सहभागी भएका थिए ।