काठमाडौँमा तापक्रम बिस्तारै बढदै चिसो घटेर गएसँगै खेलको माहौल पनि तातिने भएको छ । आज फागुन ५ गतेदेखि दशरथ रङ्गशालामा अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप फुटबल प्रतियोगिता सुरु हुँदैछ । गत तिहारअघि चिसोयाम भर्खरै सुरु भएको अवस्थामा नेपाली दर्शकहरु राति रङ्गशालामा उपस्थित भएर नेपाली महिला टोलीको पक्षमा जुटेका थिए । उक्त सातौँ साफ महिला च्याम्पियनशिप प्रतियोगितामा नेपालले राम्रो खेल प्रदर्शन गरेको अवस्थामा पनि फाइनलमा पराजित भएपछि निराश भएका दर्शकहरुको खुसी फर्काउने अवसर फेरि नेपाली टोलीमाथि आएको छ । यसका लागि गत नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङदेखि विभिन्न मुलुकमा व्यावसायिक खेल खेलिरहेका खेलाडीहरु समेत टोलीमा फर्केका छन् ।
यसपालि अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिपमा नेपाल, म्यान्मा, लेबनान र किर्गिस्तानका चार टोलीको सहभागिता रहेको छ । फोर नेसन्स फुटबल प्रतियोगिता आगामी एएफसी एसियन कप तथा फिफा विश्वकप फुटबल प्रतियोगिताको छनोट चरणमा नेपालको सहभागिताको तयारीका सिलसिलामा आयोजना गरिएको हो । सो फुटबल प्रतियोगिताका सबै खेल अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)को अन्तर्राष्ट्रिय ‘विन्डोज’मा हुने भएकाले अन्तर्राष्ट्रिय मान्यता पाउने निश्चित छ । निर्धारित खेल तालिकाअनुसार सहभागी सबै टोलीले आपसमा खेल्नेछन् । लिग चरणमा दिनको दुईवटा खेल हुने भएको छ । यसअनुसार नेपालले सबै खेल साँझ ६ बजे ‘फ्लड लाइट’मा खेल्नेछ । नेपालले लिग चरणअन्तर्गत प्रतियोगिताको पहिलो दिन फागुन ५ गते किर्गिस्तानसँग खेल्दैछ । दोस्रो खेल फागुन ८ गते लेबनानसँग तथा फागुन ११ गते म्यान्मासँग खेल्ने कार्यक्रम रहेको छ ।
नेपाली महिला राष्ट्रिय फुटबल टोलीले विगत केही वर्षयता सन्तोषजनक प्रदर्शन गर्दै आइरहेको छ । नेपाली महिला टोली फिफा वरियताक्रममा १०३औँ स्थानमा रहेको छ । सन् २०१७ मा नेपाल फिफा वरियताक्रममा सुधार हुँदै ९१औँ स्थानमा पुगिसकेको थियो । अखिल नेपाल फुटबल सङ्घले पुरुष टोलीको तुलनामा महिला टोलीलाई कम प्राथमिकता दिएको देखिएको भए तापनि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली महिला टोलीले उल्लेखनीय प्रदर्शन गर्दै महिला टोलीलाई प्राथमिकता तथा सुविधा बढाउन बाध्य बनाउँदै आएको मान्न सकिन्छ । गत सातौँ साफ महिला च्याम्पियनशिपको लिगको बेला नेपाली खेलाडीहरुले प्रशंसनीय खेल प्रस्तुत गरेका थिए । खेलाडीहरुले उत्कृष्ट गोलहरु गरेका थिए । अझ उल्लेखनीय पक्ष त धेरैपटक उपाधि जितिसकेको भारतलाई सेमिफाइनलमा पराजित गरेर नेपाली खेलाडीहरुले आफ्नो आत्मविश्वास बढाएका थिए । यसअघि भारतीय टोलीसँग पटकपटक पराजित हुँदै आएको नेपालले भारतलाई हराउन सफल हुनु महत्वपूर्ण उपलब्धि थियो । तर फाइनलमा नेपाली टोली बङ्गलादेशसँग एक गोलका विरुद्ध दुई गोलले पराजित भएर विगतमा जस्तैः उपविजेतामै सीमित रहनु परे तापनि नेपाली खेलाडीहरुले दर्शकहरुको मन भने जितेका थिए । नेपाली खेलाडीहरुले अथक प्रयत्न गर्दा पनि तथा घरेलु दर्शकहरुको अपार समर्थन पाउँदा पनि भोग्नु परेको पराजय खेलाडी तथा समर्थकहरुले अझै भुलेका छैनन् ।
दोहरिएका प्रशिक्षक
सातौँ साफ महिला च्याम्पियनशिपका बेला नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङ थिए । प्रतियोगितामा नेपाल पराजित भएपछि उनले प्रशिक्षकबाट राजीनामा दिएका थिए । यसपालि पनि उनलाई नै टोली प्रशिक्षणको जिम्मेवारी दिइएको छ । तर उनलाई टोलीको जिम्मेवारी दिइएको समय भने केही दिनअघि मात्र हो । उनले ३० जना खेलाडी छनोट गरेर बन्द प्रशिक्षण सुरु गरेका थिए, जसबाट उनले २३ जनालाई अन्तिम छनोट गरेका छन् । केही दिनको प्रशिक्षणले खासै फरक त पर्दैन । तर मुख्य प्रशिक्षक तामाङ खेलाडीहरुको व्यक्तिगत कौशलबारे जानकार रहेकाले उनको रणनीतिले टोलीको आगामी प्रदर्शनमा पक्कै प्रभाव पर्नेछ । मुख्य प्रशिक्षक तामाङले नेपालले जित्ने लक्ष्यका साथ तयारी गरिरहेको जानकारी दिएका छन् ।
साम्बाप्रति अपेक्षा
नेपाली महिला राष्ट्रिय टोलीमा अत्यन्त भरपर्दो खेलाडीका रुपमा परिचित सावित्रा भण्डारी ‘साम्बा’ले आफ्नो परिचय दक्षिण एसियाकै उत्कृष्ट खेलाडीका रुपमा बनाएकी छिन् । नेपाली राष्ट्रिय टोलीकी अग्रपङ्क्तिकी खेलाडी साम्बाले विभिन्न ५२ म्याचमा ५३ गोल गरिसकेकी छिन् । उनलाई दक्षिण तथा मध्यएसियाकै उत्कृष्ट ‘स्ट्राइकर’ मानिन्छ । भारत, इजरायललगायतका मुलुकमा व्यावसायिक खेलाडीका रुपमा आफ्नो पहिचान बनाउन सफल उनी हाल फ्रान्समा इए एभान्ट गुईगाम्प क्लबका तर्फबाट दोस्रो ‘सिजन’मा युरोपेली लिग खेलिरहेकी छिन् । उनी युरोपेली लिगमा खेल्न जाने पहिलो नेपाली खेलाडी हुन् । साम्बा फ्रान्सेली टोलीबाट सोझै राष्ट्रिय टोलीमा सहभागिता जनाउँदैछिन् ।
रेखा पनि टोलीमा
सातौँ साफ च्याम्पियनशिपका बेला भूटानी रेफ्री ओम चोकीले दोहोरो पहेँलो कार्डसहित रातो कार्ड देखाएर मैदानबाट निकालेकी नेपालकी रेखा पौडेल संयुक्त अरब इमिरेटसबाट स्वदेश आएर महिला च्याम्पियनशिप खेल्दैछिन् । उनी अबुधाबी कन्ट्री क्लबका तर्फबाट युएई महिला लिगमा सहभागिता जनाएकी छिन् । उनलाई नेपालकी पहिलो रोजाइकी स्ट्राइकरका रुपमा लिइन्छ । साफ च्याम्पियनशिपका बेला उनले कुल सात गोल गरेकी थिइन् ।
नायिका बनेकी कप्तान
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर अन्जिला तुम्बापोको वास्तविक जीवनमा आधारित कथानक चलचित्र ‘अन्जिला’ को सार्वजिनक प्रदर्शन अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप समाप्त भएलगत्तै फागुन २९ गतेदेखि हुँदैछ । फुटबल खेल्नका लागि उनले सानैदेखि सङ्घर्ष गर्दै सफलता प्राप्त गरेको कथा चलचित्रमा देखाएको छ । चलचित्र निर्देशक मिलन चाम्सको निर्देशन रहेको उक्त चलचित्रमा प्रख्यात अभिनेता दयाहाङ राई, विजय बराल, बुद्धि तामाङलगायतका कलाकारले अभिनय गरेका छन् । उक्त चलचित्रको हङकङमा प्रिमियर सो हुँदा पनि अन्जिला सहभागी भएकी थिइन् । नेपालमा अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप खेल्नका लागि एन्जिला ग्रिसबाट आइसकेकी छिन् । उनी युरोपियन लिग फुटबल खेल्न ग्रिसको ‘ए डिभिजन’को क्लब निस अट्रोमिटउ क्लबसँग आबद्ध रहेकी छिन् ।
नेपालमा सुरुआत
नेपालले सन् १९८६ मा पहिलोपटक एएफसी वुमन्स च्याम्पियनशिपमा नेपाली महिला राष्ट्रिय टोलीलाई सहभागिताका लागि पठाएको थियो । त्यतिखेर पहिलो दिनको खेलमा नेपाल हङकङसँग शून्यका विरुद्ध एक गोलले पराजित भएको थियो । त्यसपछि नेपाल सन् १९८९ तथा १९९९ मा एएफसी वुमन्स च्याम्पियनशिपमा सहभागी भएको भए तापनि समूह चरणभन्दा माथि पुग्न सकेन । नेपाली महिला फुटबल टोलीसँग नेपाली फुटबलप्रेमीहरुको अपेक्षा प्रतियोगिता विजेता बनेको देख्न पाउनु हो । नेपाल साफ महिला च्याम्पियनशिपमा छपटक तथा दक्षिण एसियाली खेलकुदको महिला फुटबलमा तीनपटक उपविजेता बनिसकेको छ । साउदी अरेबियामा भएको वाफ महिला च्याम्पियनशिप फुटबलमा पनि नेपाल उपविजेता बनेको थियो ।
सहभागी टोलीहरुको स्थिति
लेबनान
लेबनानको महिला राष्ट्रिय फुटबल टोलीले सन् २००५ देखि सक्रिय रुपमा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदै आइरहेको छ । सो टोलीले हालसम्म खेलेका ५९ वटा अफिसियल म्याचमध्ये २४ वटामा विजय हासिल गरेको, तीनवटा बराबरीमा टुङ्गिएको तथा ३२ वटा म्याचमा पराजय भोगेको थियो । सन् २०२२ मा सम्पन्न वाफ (वुमन्स च्याम्पियनशिप)मा लेबनान दोस्रो भएको थियो । सन् २०२३ मा भएको महिलाहरुको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतियोगितामा लेबनानले अतिरिक्त समयमा भूटानलाई शून्यका विरुद्ध एक गोलले हराएर उपाधि जोगाएको थियो । सन् २०२४ का वाफ फुटबल प्रतियोगिताको सेमिफाइनलमा नेपालले लेबनानलाई एक गोलविरुद्ध दुई गोलले हराएको थियो । लेबनान हाल फिफा वरियताक्रममा १३४औँ स्थानमा रहेको छ ।
म्यान्मा
फिफा महिला विश्व वरियताक्रममा म्यान्माको स्थान ५५औँ रहेको छ । म्यान्माको महिला राष्ट्रिय फुटबल टोलीले सन् १९९५ देखि विभिन्न क्षेत्रीय प्रतियोगिताहरुमा भाग लिँदै आइरहेको छ । म्यान्माले एएफएफ महिला च्याम्पियनशिपमा सन् २००४ र २००७ मा उपाधि जितेको थियो । उक्त प्रतियोगितामा म्यान्माको टोली सन् २०११, २०१२ तथा २०१५ मा दोस्रो तथा सन् २०१६, २०१९ र २०२२ मा तेस्रो हुन सफल भएको थियो । दक्षिण पूर्वी एसियाली खेलकुदमा म्यान्माको महिला फुटबल टोलीले चारपटक दोस्रो तथा सातपटक तेस्रो स्थान प्राप्त गरेको थियो ।
किर्गिस्तान
किर्गिस्तानको महिला राष्ट्रिय फुटबल टोलीले सन् २००९ मा पहिलोपटक एएफसी महिला एसियाकपमा सहभागिता जनाएको थियो । सन् २०२२ मा सम्पन्न सिएएफए महिला च्याम्पियनशिपमा किर्गिस्तान टोली तेस्रो भएको थियो । किर्गिस्तानले विभिन्न उमेर समूहका महिला फुटबल टोली बनाएर प्रतियोगितामा सहभागिता गराएको छ । फिफा विश्व वरियताक्रममा १२८औं स्थानमा रहेको छ ।
नेपालमा महिला फुटबलको विकासका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल जस्ता विभागीय टोलीहरुको उल्लेखनीय भूमिका रहँदै आएको छ । यसपालिको प्रतियोगितामा पनि नेपाली टोलीमा अधिकांश खेलाडीहरु विभागीय टोलीहरुबाटै छनोट भएका छन् । व्यावसायिक खेलाडीका रुपमा युरोप र अन्य मुलुकमा अनुभव हासिल गरेर आएका नेपाली खेलाडीहरुकै खेलमा नेपाली टोलीको भविष्य निर्भर रहेको छ । घरेलु दर्शकहरुको अपार समर्थन र साथले सकारात्मक नतिजा जुटाउन पक्कै सहयोग गर्ने आशा गर्न सकिन्छ । गत कात्तिकमा यही रङ्गशालामा फाइनलमा भएको पराजयलाई यसपटक शक्तिमा बदल्न पनि नेपाली टोलीका तर्फबाट यथोचित प्रयत्न हुने अपेक्षा गरिएको छ ।
आगामी दिनमा अन्य फुटबल क्लबहरुले पनि पुरुष खेलाडीहरुलाई जस्तैः व्यावसायिक रुपमा महिला खेलाडीहरुलाई पनि आबद्ध गर्न सुरु गरेमा नेपालले अन्तर्राष्ट्रिय सफलता हासिल गर्दै जाने निश्चित छ । अखिल नेपाल फुटबल सङ्घले पनि महिला फुटबलका प्रतियोगिता तथा गतिविधिलाई क्रमिक रुपमा बढाउँदै खेलाडीहरुले खेलेरै जीवनयापन गर्न सक्ने सन्देश प्रवाह गर्न नेतृत्वदायी भूमिका लिनु अपेक्षा गरिएको छ ।